४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने, दुईदेखि १० रुपैयाँसम्म छुट

 भदौ २७, २०८१ बिहीबार ७:१४:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनिसकेको छ ।

आमउपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने छ ।

सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच तथा गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायतमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट पाइनेछ । यस्तै च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने तयारी छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाण्डौ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । काठमाण्डौ उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ । साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।

दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आउँदो कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ । चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ ।

त्यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको  मन्त्रालयले जनाएको छ । चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा त्यसको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्नेछ ।

यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया