नेपालबाट ४० मेगावाट बिजुली किन्ने योजनालाई बङ्गलादेशको अन्तरिम सरकारले स्वीकृति दियाे

दशैँअघि नै नेपाल, भारत र बङ्गलादेशबीच त्रिदेशीय सम्झौताको तयारी

 भदौ ३१, २०८१ सोमबार १३:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बङ्गलादेशको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने योजनालाई स्वीकृति दिएको छ । यो परियोजना यसै वर्षको जुनमा तत्कालीन शेख हसिना नेतृत्वको सरकारले शुरू गरेको थियो । आन्दोलनका कारण हसिना नेतृत्वकाे सरकार ढलेपछि बनेको अन्तरिम सरकारले नेपालबाट बिजुली किन्ने योजनालाई स्वीकृत गरेको बङ्गलादेशी सञ्चारमाध्यमहरूले बताएका छन् ।

बङ्गलादेशले बिजुली किन्ने योजना स्वीकृत गरेसँगै नेपाल सरकारले दशैँअघि नै बङ्गलादेश र भारतका ऊर्जामन्त्रीहरूसँग संयुक्त छलफल गरेर हस्ताक्षर गर्ने र बिजुली निर्यातको तयारी गरेको छ ।

यसअघि गएको साउनमै सम्झौता गर्ने तयारी भएकोमा बङ्गलादेशमा सरकारविरोधी आन्दोलन भएकाले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता हुन सकेको थिएन । अब नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतापछि नेपालबाट बङ्गलादेश बिजुली लैजाने बाटो खुल्नेछ ।

नेपालबाट आयात गर्ने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट अर्थात् ७ दशमलव ३२ टाका तोकिएको सरकारले जनाएको छ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि भारतीय सरकारले प्रसारणलाइनको प्रयोग गर्न अनुमति दिइसकेको छ । प्रसारणलाइन प्रयोग गरेबापतको रकम अर्थात् 'ह्विलिङ चार्ज' बङ्गलादेशले नै तिर्नेछ ।

बङ्गलादेशले अहिले बिजुली किन्न शुरू गरेमा बङ्गलादेश, नेपाल र भारतबीच त्रिपक्षीय ऊर्जा सहकार्यको नयाँ युग शुरू हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चरम ऊर्जा सङ्कटको जोखिममा रहेको बङ्गलादेशले भारतबाट मागेअनुसारको बिजुली नपाएपछि भुटान र नेपालबाट बिजुली किन्ने विषयलाई प्राथमिकतामा राखेको छ । यसले नेपाल र बङ्गलादेश दुवै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने दुवै देशको आशा छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया