सडकको अवस्था हेर्दा दशैँको यात्रा कष्टकर हुने चिन्ता

 असोज २, २०८१ बुधबार १३:४२:३७ | विकाश चापागाईँ
unn.prixa.net

काठमाण्डाै – दशैँ नजिकिँदै गर्दा सडकको अवस्था सम्झेर यात्रु चिन्तित छन् । कतिपय सडक वर्षा र पहिरोले भत्किएका छन् । कतिपय चाहिँ समयमै काम नहुँदा अस्तव्यस्त र बेहाल छन् । कतिपय सडकको पुल नै बगाएर समस्या भएको छ भने कतिपय सडक सञ्चालनमा रहे पनि खाल्डाखुल्डीले गर्दा समस्या छ । सडक विभागले भने राजमार्गका सडकमा परेका खाल्डाखुल्डी पुर्ने र पहिरो हटाउने काम शुरू भएको बताएको छ । दशैँ मान्नका लागि घर जाने बेलासम्ममा यात्रुलाई ठूलो सास्ती नहुने गरी सडक मर्मतको काम गरिसक्ने सडक विभागको दाबी छ । तर मुख्य सडकहरूका अहिलेको अवस्था हेर्दा विभागले दाबी गरेजस्तो यात्रा सहज हुनेमा आशङ्का छ ।

कुन सडकको अवस्था कस्तो छ त ?

नागढुङ्गा–मुग्लिन सडक

काठमाण्डौ जोड्ने मुख्य मार्ग नागढुङ्का–मुग्लिन सडक विस्तारका क्रममा छ । पहिले ६ मिटर चौडाइ रहेको सडक अब ९ मिटर चौडाइ बनाउन लागिएको छ । दैनिक हजारौंको सङ्ख्यामा गाडी ओहोरदोहोर हुने यो सडकको यात्रा निकै कष्टकर छ । ९५ किलोमिटर रहेको नागढुङ्गा–मुग्लिन खण्डअन्तर्गत पहिलो खण्ड नागढुङ्गा–नौबिसे, दोस्रो खण्ड नौबिसे–मलेखु तथा तेस्रो खण्ड मलेखु–मुग्लिनमा सडक विस्तारको काम भइरहेको छ ।

तस्बिर : नागढुङ्गा–मुग्लिन सडक 

नागढुङ्गा–मुग्लिन सडक परियोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार अहिलेसम्म पहिलो खण्ड नागढुङ्गा–नौबिसेको काम ६० प्रतिशत पुगेको छ । दोस्राे खण्ड नौबिसे–मलेखुको काम २३ प्रतिशत र तेस्राे खण्ड मलेखु–मुग्लिनको निर्माण प्रगति ११ प्रतिशत पुगेको छ । नागढुङ्गा–मुग्लिन सडकअन्तर्गत पहिलो खण्डको म्याद गएको जेठमा ८ महिनाका लागि थपिएको छ । दोस्राे खण्डको समयावधि अब ११ महिना बाँकी छ । ‘हामीले तोकिएकै अवधिमा काम सक्न ठेकेदार पक्षलाई ताकेता गरिरहेका छौँ’, परियोजनाका प्रमुख रिजालले भन्नुभयो ।

दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा यात्रुलाई सास्ती नहोस् भन्ने उद्देश्यले सडक सतह सुधार्नेदेखि निश्चित ठाउँमा सडक सुधार्नलाई स्राेत साधन, सामग्री र जनशक्ति राखेर तुरुन्तै मर्मत गर्ने योजना बनाएको आयोजनाका प्रमुख रिजाल बताउनुहुन्छ । साथै घटस्थापनाको दिनलाई अन्तिम म्याद राखेर निर्माण पक्षलाई सडकका खाल्डाखुल्डी पुर्ने र आउजाउ गर्न अप्ठेरो नपर्ने गरी मर्मत गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

काठमाण्डौ–हेटौँडा जोड्ने सडक

काठमाण्डौ–हेटौँडा जोड्ने पाँच वटा सडक खण्ड छन् । कान्ति राजमार्गअन्तर्गत टीकाभैरव–हेटौँडा सडक, त्रिभुवन राजमार्गअन्तर्गत नौबिसे–हेटौँडा सडक, हेटौँडा–कुलेखानी–फाखेल–काठमाण्डौ, हेटौँडा–सिस्नेरी–फार्पिङ काठमाण्डौ र थानकोट–चित्लाङ–कुलेखानी–हेटौँडा सडकले काठमाण्डौदेखि हेटौँडाको दूरीलाई छोट्याउँछ ।

तस्बिर : काठमाण्डौ–हेटौँडा जोड्ने सडक 

काठमाण्डौ–हेटौँडा जोड्ने वैकल्पिक राजमार्ग कान्ति राजमार्गको निर्माणको काम चल्दैछ । काठमाण्डौ उपत्यकाबाट कान्ति राजमार्गको प्रस्थान विन्दु ललितपुरको एकान्तकुना हो । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टीकाभैरवसम्मको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्ने काम भइरहेको छ । कतिपय भीर भएका खण्डमा एक लेन पनि छन् । निर्माणको काम भइरहेकाले दशैँ तिहारअघि गाडी गुड्न मिल्ने बनाउने योजना रहेको कान्ति राजमार्गअन्तर्गत टीकाभैरव–हेटौँडा आयोजनाका सूचना अधिकारी इन्जिनियर रविन्द्र महर्जन बताउनुहुन्छ । ‘अहिले पनि पहिले गएका पहिरो हटाइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘पहिरो गएका र जान सक्ने विभिन्न ठाउँलाई मध्यनजर गरेर तीन वटा ठाउँमा मेशिन राखिएको छ ।’

सडकको ट्र्याक निर्माण भइसकेकोले सडकमा खसेका सबै पहिरो दशैँअघि हटाउने र गाडी गुड्न मिल्ने बनाउने इन्जिनियर महर्जनले बताउनुभयो ।

ललितपुरमा दुई र मकवानपुरमा एक गरी तीन ठेक्का अवधि सकिएको लामो समय हुँदा पनि अझै सडक निर्माण कार्य सम्पन्न भइसकेका छैनन् । राजमार्गको ६ किलोमिटर सडक निर्माण कार्य डिभिजन सडक कार्यालयले गरिरहेको छ । कार्यालयले टीकाभैरवबाट बुद्धचोकसम्म ७९ किलोमिटर सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किलोमिटर सडक ललितपुर र २८ किलोमिटर मकवानपुर जिल्लामा पर्छ ।

त्रिभुवन राजमार्गअन्तर्गत नौबिसे–हेटौँडा सडकको विभिन्न ठाउँमा खाल्डाखुल्डी हुँदा गाडी गुड्न असहज हुँदै आएको छ । हेटौँडा–कुलेखानी–फाखेल–काठमाण्डौ सडकमा कतै काम चल्दैछ भने कतै सडक कालोपत्र भएको छ ।

यस्तै हेटौँडा–सिस्नेरी–फर्पिङ–काठमाण्डौ सडक बिग्रेका कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । थानकोट–चित्लाङ–कुलेखानी–हेटौँडाको काम सुस्ता गतिमा चल्दा यात्रा गर्न कठिन छ ।

अरनिको राजमार्ग

अरनिको राजमार्ग काठमाण्डौ उपत्यकाको कोटेश्वरदेखि पूर्वी पहाडी जिल्ला काभ्रे, भोजपुर, दैलेख लगायत सिन्धुपाल्चोकको तातोपानी नाकासम्म जानका लागि प्रयोग हुन्छ । अरनिको राजमार्गको सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडक खण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सडक विस्तार शुरू भएको झन्डै दुई वर्ष हुन लाग्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन । दशैँ, तिहारलगायत चाडपर्वमा यो सडक खण्ड भएर गुड्ने गाडी र यात्रुलाई थप कष्ट हुने देखिन्छ । अरनिको राजमार्गमा पर्ने विभिन्न ठाउँका खण्डमा कतै खाल्डाखुल्डी त कतै पहिरोले सडक बिग्रिएको छ ।

तस्बिर : सूर्यविनायक–धुलिखेल सडक 

२०७९ साल पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका लागि ७ दशमलव ५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडक खण्ड र साँगा–धुलिखेल ८ दशमलव ४ किलोमिटर सडक खण्ड विस्तारका लागि ठेक्का सम्झौता भएको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयकाअनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक विस्तारको काम बजेट अभावका कारणले ढिलाइ भएको हो । पलासेदेखि साँगासम्म भौगोलिक अवस्थाका कारण ४ लेन सडक मात्र हुने सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्रप्रसाद दासले बताउनुभयो । ‘एक पटक मर्मत गर्दा १५ दिनसम्म सडकमा विना अवरोध गाडी गुड्न सक्छ, पानी पर्दा सडक मर्मत गर्न समस्या भइरहेको छ’, उहाँले भन्नुभयो, ‘चाडपर्वका बेलामा पनि सडक बिग्रिएको ठाउँमा मर्मत कार्य भइरहन्छ ।’

बीपी राजमार्ग

काठमाण्डौलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको बीपी राजमार्गमा २ लेनका लागि काम भइरहेको छ । सडक साँघुरो हुँदा गाडी आवतजावत गर्न कठिनाइ भएपछि सरकारले २ लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो । बीपी राजमार्गअन्तर्गत काभ्रे बजारभन्दा १० किलोमिटर पूर्वतर्फको सडक बिग्रिएको छ । यस्तै राजमार्गको खुर्कोट बजार नजिकै पनि सडक बिग्रिएको छ ।

तस्बिर : बीपी राजमार्ग 

दशैँअघि नै सडक मर्मतको काम कसरी गर्ने भन्नेबारे सडक विभागसँग छलफल भइरहेको बीपी राजमार्गअन्तर्गत सिन्धुली–बर्दिबास सडक आयोजनाका निमित्त डिभिजन प्रमुख इन्जिनियर प्रदीप तामाङले बताउनुभयो । चाडपर्वमा काठमाण्डौ उपत्यकाबाट बाहिर आउजाउ गर्ने गाडी अत्यधिक गुड्ने भएकाले जसरी पनि मर्मत गर्नका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

‘अहिलेको पहिलो प्राथमिकता भनेको दशैँअघि गाडी गुड्न सहज बनाउने भन्ने छ’, इन्जिनियर तामाङले भन्नुभयो । २०७८ सालदेखि ठेक्का लागे पनि काम हुन नसकेको उहाँले बताउनुभयो । गएको आर्थिक वर्षमा बजेट विनियोजन हुँदा पनि काम हुन नसकेको सडक बिग्रिएको क्षेत्रमा यो वर्ष त बजेट पनि विनियोजन भएको छैन ।

अरनिको राजमार्गमा पर्ने धुलिखेलदेखि दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गसँग जोडिने महोत्तरीको बर्दिबाससम्म पुग्न बीपी राजमार्गको प्रयोग गर्नुपर्ने हुन्छ ।

नारायणगढ–बुटवल सडक खण्ड

नारायणगढ–बुटवल खण्डको १ सय १३ किलोमिटर सडकमध्ये ५० किलोमिटर क्षेत्रमा त्यति धेरै समस्या छैन । तर बुटवलबाट केही पूर्व, सुनवल, बर्दघाट, दाउन्ने, चोरमारा लगायतका क्षेत्रको अवस्था बेहाल छ । काठमाण्डौबाट पश्चिम जाने यात्रुले नारायणगढ, बुटवल हुँदै जानुपर्छ । आउँदै गरेको दशैँ–तिहार जस्ता ठूला पर्वमा पनि यो सडकको अवस्था के हुने हो भन्ने चिन्ता छ ।

तस्बिर : नारायणगढ–बुटवल सडक 

दशैँ, तिहार र छठका लागि सडक मर्मत थालिहाल्ने र जसरी हुन्छ यही ठेकेदार कम्पनीबाट काम गराएर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकाल । ‘मैले नागरिकसँग माफी माग्न चाहन्छु । हाम्रो कारणले सडक परियोजना ढिला भएको होइन’, उहाँले भन्नुभयो, ‘दशैँ अगाडि सडक मर्मत गरेर गाडी सहज रूपमा हिँड्ने बनाउँछौँ, आउँदाे बर्खामा नागरिकले यो खण्डमा हिलो टेक्न नपर्ने गरी काम गरिरहेका छौँ ।’

ठेक्का लागेको ६ वर्षमा सरकारले तीन पटक म्याद थपिसक्यो । अनेक बहाना बनाउने ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले घाटा भएको भन्दै अतिरिक्त रकम मागेर अहिले काम रोकेको छ । हरेकजसो भौतिक पूर्वाधारमन्त्री र संसदीय समितिले सडक अनुगमन गरेका छन्, सरकारले सडक विभागका कर्मचारीलाई चीनमै पठाएर ठेकेदारका उच्च तहका व्यक्तिसँग कुरा गरिसकेको छ ।

मुग्लिन–पोखरा सडक

मुग्लिन–पोखरा सडकको यात्रा कष्टकर भएको गुनासो बढिरहँदा निर्माण कम्पनीले अबको १५ महिनाभित्र सक्ने प्रतिबद्धता जनाएको छ । काठमाण्डौबाट पोखरा, बाग्लुङ, पर्वत, बेनी, लमजुङतर्फ जानका लागि यात्रुले यही सडक प्रयोग गर्नुपर्छ । अहिले पनि सडकको यात्रा कष्टकर छ । चाडपर्वको बेलामा झनै कष्ट भोग्नुपर्ने यात्रुको चिन्ता छ ।

‘सम्झौताको प्रावधानअनुसार निर्माण पक्षले नयाँ सडक बनाउने र पुरानो सडक पनि मर्मत सम्भार गर्नुपर्ने भनिएको छ’, पश्चिम खण्ड आयोजनाका सूचना अधिकारी इन्जिनियर नारायण पौड्यालले भन्नुभयो, ‘मुख्यमन्त्री कार्यालयमा भएको छलफलबाट पनि दशैँअघि नै सडकका खाल्डाखुल्डी पुर्न र गाडी सहज रूपमा गुडाउन मिल्ने बनाउन निर्देशन दिएका छौँ ।’

तस्बिर : मुग्लिन–पोखरा सडक 

मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा विभाजन गरी राजमार्ग स्तरोन्नति भइरहेको छ । सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहँदा सङ्घीय राजधानी काठमाण्डौ र पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्गमा यात्रा कष्टकर छ । राजमार्ग निर्माण ढिलो हुँदा स्थानीय बासिन्दा, यात्रु र पर्यटकले सास्ती बेहोर्नुपरेको छ । दुई घण्टामा छिचोलिने बाटो चार घण्टामा पूरा गर्न पनि कठिन भएको छ । राजमार्गको पूर्वी खण्डको काममा केही प्रगति भए पनि पश्चिम खण्डमा निकै ढिलाइ भएको छ । मुग्लिन पोखरा सडक निर्माण आयोजनाले अहिलेसम्म पूर्वी खण्डमा ६४ प्रतिशत र पश्चिम खण्डमा ३० प्रतिशत काम भएको जनाएको छ ।

कर्णाली राजमार्ग

सुर्खेतको वीरेन्द्रनगरदेखि जुम्लाको खलङ्गासम्म जोड्ने दुई सय ३२ किलोमिटरको कर्णाली राजमार्गको यात्रा सधैँजसो कष्टकर हुने गरेको छ । वर्षाका बेला पटक–पटक अवरुद्ध हुने राजमार्गको यात्रा असुरक्षितसमेत हुने गरेको छ । नाम राजमार्गको भए पनि अवस्था भने कच्ची सडकको जस्तै भएको स्थानीय बासिन्दाको गुनासो छ ।

तस्बिर : कर्णाली राजमार्ग  

दशैँ, तिहारलगायतका ठूला चाडपर्वमा काठमाण्डौ, नेपलागञ्ज, वीरेन्द्रनगर तथा छिमेकी देश भारतसहित वैदेशिक राजेगारीमा गएका कर्णालीका नागरिक यही राजमार्ग भएर घर फर्किन्छन् । चाडपर्वका बेला यात्रा कष्टकर हुने चिन्ताले यात्रुलाई अहिलेदेखि नै सताएको छ ।

तर मनसुन सकिने बित्तिकै पहिरो जाने जोखिम कम हुने र चाडपर्वको बेला यात्रा गर्न केही सहज हुने सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर वीरबहादुर जिटी बताउनुहुन्छ । ‘पहिरो गएन भने सडक टालटुल मात्र भए पनि गर्ने भन्नेबारे छलफल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘कार्यालयसँग सडक टालटुल गर्ने पनि बजेट छैन, सडक विभागसँग आवश्यक थप बजेटका लागि पहल गरिरहेका छौँ ।’ चाडपर्वलाई लक्षित गरेर हरेक ३ किलोमिटरमा मेशिनसहित जनशक्ति परिचालन गरिएको इन्जिनियर जिटीले बताउनुभयो ।

रानी–विराटनगर–इटहरी–धरान सडक

भारतीय सीमादेखि पूर्वी पहाडी जिल्लासम्म जोडिएको रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणको काम चलिरहेको छ । ४९ किलोमिटरको सडक खण्डको धरानमा ५ किलोमिटर विस्तार गर्न अझै बाँकी नै छ । धरानबाहेकको अरू ठाउँमा चालू आर्थिक वर्षभित्र निर्माण सकिने रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर अस्मिता सुवेदीले बताउनुभयो । धरान क्षेत्रमा निर्माणाधीन ४ लेनमध्ये एकातर्फ कालोपत्र भएको छ भने अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम गरिएको छ ।

तस्बिर : इटहरी–धरान सडक  

विशेषगरी रानी भन्सार कार्यालयबाट भित्रिने सडकमा गुड्न सक्ने क्षमताभन्दा बढी क्षमताका ट्रकका कारण कालोपत्र भइसकेको सडक पनि भत्किने गरेको इन्जिनियर सुवेदीको भनाइ छ । यसका लागि सडक आयोजनाले ट्राफिक प्रहरीलाई पत्राचार गर्ने गरेको उहाँले बताउनुभयो । सडकमा भएका खाल्डाखुल्डीले नागरिकलाई यात्रा गर्न केही असहज भएको छ ।

‘अब चाडपर्वका बेला गाडी गुडाउन सहज होस् भनेर आयोजनाले निर्माण पक्षलाई निर्देशन दिएको छ’, सुवेदीले भन्नुभयो, ‘शायद दशैँ–तिहारमा त्यस्तो समस्या नहोला ।’

दशैँमा यात्रा गर्न सहज होस् भनेर सबै संयन्त्र तयारी अवस्थामा राखेका छौँ : सडक विभाग

सडक विभागले राजमार्गका सडकमा परेका खाल्डा पुर्ने र पहिरो हटाउने काम भइरहेको बताएको छ । दशैँमा ओहोरदोहोर गर्ने यात्रुलाई ठूलो सास्ती नहुने गरी सडक मर्मतको काम गरिसक्ने सडक विभागको दाबी छ । सडक विभागका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सिनियर डिभिजन इनियर अमितकुमार शर्माकाअनुसार देशभरका बिग्रिएका सडकको मर्मत दशैँअघि सक्ने गरी प्राथमिकताका साथ काम भइरहेको छ ।

‘दशैँका बेला तत्काल कतै पहिरो गइहालेमा मेशिन, जनशक्तिलगायतका संयन्त्र तयारी अवस्थामा राख्न भनेका छौँ’, उहाँले भन्नुभयो, ‘आपत्कालीन टोली हामीले आन्तरिक रूपमा तयार गरेका छौँ ।’ सडक बनाउन र मर्मत गर्नका लागि विभागसँगै पालिका, गृह प्रशासनलगायत सबैबाट सहयोग, समन्वय र सहजीकरण गर्न आवश्यक रहेको सूचना अधिकारी इन्जिनियर शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकाश चापागाईँ

विकाश चापागाईँ ​उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया