मधेस प्रदेशमा कुपोषणको समस्या, निःशुल्क उपचार गर्दै प्रदेश सरकार

 असोज ४, २०८१ शुक्रबार ८:४२:५३ | रासस
unn.prixa.net

फाइल तस्बिर

जनकपुर – मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको ज्यानसमेत जाने हुने गरेको छ ।

मधेस प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषणगृहका अनुसार कुपोषणका कारण बालबालिकामा मुटु समस्या, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, क्षयरोग, मस्तिष्कघात, वृत्तिविकासमा कमी, पुडकोपनलगायत समस्या हुने गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा एक सय ८६ बालबालिका कुपोषणका कारण उपचारका लागि जनकपुर अस्पतालमा भर्ना भएका थिए भने आव २०८०/८१ मा दुई सय १६ बालबालिका उपचारका लागि भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै अस्पतालका बालरोग विभागमा दैनिक एक सय ५० देखि दुई सय ५० बालबालिका उपचारका लागि पुग्ने गरेका छन् । जसमा हरेक १० जनामध्ये चार जनामा कुपोषण समस्या भेटिने गरेको छ । यस्तो समस्या छ महिनादेखि पाँच वर्षका बालबालिका धेरै छ ।

गरिबी, अशिक्षा, आर्थिक अभाव, चेतनाको कमी,  विपन्नता र समयमा उपचार नपाउँदाले कुपोषणको समस्या बढेको र यो समस्या दलित तथा पिछडिएको वर्गमा अत्यधिक रहेको प्रतिष्ठानले जनाएको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेशमा करिब ५१ प्रतिशत बालबालिकामा रक्तअल्पता, २९ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशमा कम तौल तथा १० प्रतिशत बालबालिकामा क्षयरोगलगायत कुपोषण भएको देखिने गरेको छ ।

विगत पाँच वर्षमा कुपोषणको समस्या कम नभएपछि समाधानका लागि प्रदेश जिल्लादेखि वडासम्म पोषणसम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ । पोषणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम, पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पताल तथा राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि पोषणगृह सञ्चालनमा रहेको छ ।

प्रदेश सरकारले  कडा कुपोषण देखिएका बालबालिकाको निःशुल्क उपचार, पोषिलो खानपानका लागि प्रोत्साहन तथा अरु जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया