कास्कीको घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो

 असोज ९, २०८१ बुधबार १२:२८:२८ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की – प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी) को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गएकाे असार २० गते पहिरोले अवरुद्ध भएको थियो । सडक हिजोदेखि पूर्णरूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिनुभयो ।

पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका थिए । सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो । पूर्वाधार विकास कार्यालयको २५ लाख र स्थानीय जनश्रमदानबाट दुई लाख २५ हजार गरी २७ लाख २५ हजार रुपैयाँ लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताउनुभयो ।

‘सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरेका छौँ’, उहाँले भन्नुभयो ।

अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जाने र लामो समयदेखिको अवरोध हटेको बताउनुभयो । पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकामा घान्द्रुकका पर्यटन व्यवसायी उत्साहित छन् । घान्द्रुकका पर्यटन व्यवसायी अमृत गुरुङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकामा समस्या समाधान भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक खण्ड १७ किलोमिटर लामो छ । यही सडक खण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

घान्द्रुक विश्व प्रख्यात अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौं पर्यटक एबीसी पुग्छन् । पछिल्लो समय घान्द्रुक पर्यटनको 'हब' बन्दै गएको छ । गुरुङ संस्कृतिसँग रमाउन र दृश्यावलोकनका लागि आन्तरिक पर्यटक वर्षभरि नै यहाँ पुग्ने गर्दछन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया