उद्धारको पर्खाइमा गुरुकूलका ३३ जना

 असोज १२, २०८१ शनिबार १७:३३:५४ | रासस
unn.prixa.net

सिन्धुली – सिन्धुली सुनकोशी गाउँपालिका–१ को आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जना नदीको बीचमा फसेका छन् । गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी हिजो रातिदेखि बाढीमा फसेका हुन् ।

सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । बिहीवारदेखि परेको अविरल वर्षासँगै सुनकोशी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि सुरक्षित ठाउँमा जान नसकिएको उहाँले बताउनु भयो ।

विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरी उद्धारको प्रयास भए पनि अहिलेसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाढीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी हिजोदेखि पहल गरिरहेको जानकारी दिनुभयो । 

रोशी र सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका–५ मुल्कोट, रगोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार डुबानमा परेका छन् । साथै दुम्जाका पाँच घर बगाएको छ । दुम्जा र नेपालथोक बीचमा एक सय मिटर बिपी राजमार्ग बाढीले बगाएपछि हिजोदेखि आवतजावत बन्द भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

सुनकोशी, कमला र बाग्मती नदीले खतराको तह पार गरेका छन् । अविरल वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया