गुरुकुलमा थुनिएका ३३ जनाको उद्धार

 असोज १२, २०८१ शनिबार १९:२०:३१ | रासस
unn.prixa.net

सिन्धुली – बाढीका कारण थुनिएका सुनकोशी गाउँपालिका–१ आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ । उनीहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सुनकोशी नदीको बीच भागमा अलपत्र परेका गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पुजारीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उनीहरु हिजो रातिदेखि सुनकोशीको बाढीमा फसेका थिए ।

सुनकोशी नदीको बाढी र रोशी खोलाको बाढी मन्दिर रहेको क्षेत्रमा पसेपछि उनीहरु बीच भागमा थुनिएका थिए । मन्दिरको चारैतिर बाढी पसेपछि सुरक्षित स्थानमा जान नसकेका गुरुकुलका सबैजनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताउनुभयो ।

मन्दिर परिसरमा थुनिएकाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हिजोदेखि नै प्रयास गरेको उहाँले बताउनुभयो । उनीहरुले उद्धार गर्न नसकेपछि काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टर मगाउनुपरेको प्रजिअ शर्माले बताउनुभयो ।

रोशी र सुनकोशी नदीको बाढीले सुनकोशी–५ मुल्कोट र गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार समेत डुबानमा परेका छन् । दुम्जाका पाँच घर बाढीले बगाएको छ । दुम्जा र नेपालथोक बीचको बिपी राजमार्गको केही भाग बाढीले बगाएको छ । अहिले सो क्षेत्रमा यातायात सेवा बन्द छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया