ललितपुरको दक्षिणी भेग सडक, बिजुली र सञ्चार सम्पर्कविहीन

 असोज १३, २०८१ आइतबार १५:२८:२८ | रासस
unn.prixa.net

ललितपुर – गएको बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण ललितपुरको दक्षिणी भेगका तीन वटा पालिकाका सडक, बिजुली र सञ्चार सम्पर्कविहीन भएका छन् ।

विपत्तिका कारण महाङ्काल, बाग्मती र कोञ्ज्योसोम गाउँपालिकाका स्थानीयवासीले जनधनको क्षति व्यहोर्नुपरेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिनुभयो । उहाँले लेले–चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द भएको र ठाउँठाउँमा बिजुलीका पोल ढलेका बताउनुभयो । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन नसकिएको उहाँको भनाइ छ ।

बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोकपथ अवरुद्ध हुँदा गाडी प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताउनुभयो । उहाँले माल्टा र आश्राङमा गरी चार वटा घर बगाएको र गिम्दीमा झोलुङ्गे पुल बगाएको जानकारी गराउनुभयो । कतिपय ठाउँमा खानेपानीको पाइप नष्ट भएका र भट्टेडाँडामा एउटा गोठ पुरिएर पाँच वटा दुहुना भैँसी पुरिएका जानकारी आएको उहाँको भनाइ छ ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण १५ वटाभन्दा बढी घर पूर्णरूपमा क्षति भएका जानकारी दिनुभयो । बाग्मती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले सञ्चार सम्पर्क, बिजुली र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गर्नुभयो ।

यसैबीच नख्खु खोलाको बाढी नेपाल मेडिसिटी अस्पतालमा छिरेर डुबान भएपछि त्यहाँ उपचाररत ५० जनाभन्दा धेरै बिरामीलाई काठमाण्डौका विभिन्न अस्पतालमा स्तानान्तरण गरिएको छ । आईसीयूमा उपचाररतसहितका बिरामीलाई स्थानान्तरण गरिएको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया