सङ्घीय राजधानी काठमाण्डौ जोड्ने सबै सडक ३ दिनदेखि ठप्प

 असोज १३, २०८१ आइतबार १८:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

झ्याप्ले खाेलाकाे पहिराे, तस्वीर : रासस

काठमाण्डाै – सङ्घीय राजधानी काठमाण्डौ जोड्ने सबै सडक तीन दिनदेखि ठप्प छन् । अस्ति रातिदेखि काठमाण्डौ जोड्ने सबै सडक ठप्प छन् ।

काठमाण्डौको 'लाइफलाइन' मानिने नागढुङ्गा–नौबिसे सडक तीन दिनदेखि बन्द रहेको छ । काठमाण्डौबाट मुग्लिनसम्म दर्जनौं ठाउँमा पहिरो झरेको छ । धादिङको झ्याप्ले खोलामा गएको निकै ठूलो पहिरोका कारण काठमाण्डौबाट नौबिसेसमेत जान जान नसक्ने अवस्था छ ।  झ्याप्ले खोलाको पहिरोका कारण अलपत्र परेका यात्रु र अत्यावश्यक गाडीलाई प्रहरीले नागढुङ्गा सुरुङमार्गको प्रयोग गरी काठमाण्डौ पठाइरहेको छ ।

यस्तै हेटौँडाबाट काठमाण्डौ जोड्ने सबै सडक बाढी पहिरोका कारण अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण हिजो विभिन्न ठाउँमा बाढी पहिरो जाँदा हेटौँडा–काठमाण्डौ खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाण्डौ, कुलेखानी–फाखेल–काठमाण्डौ, कुलेखानी–मातातीर्थ–काठमाण्डौ र त्रिभुवन राजपथ अवरुद्ध भएको हो ।

यस्तै बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक, पुष्पलाल राजमार्गको सिन्धुली खण्ड पनि बन्द हुँदा काठमाण्डौ आउजाउ ठप्प छ । बाढीले यी राजमार्गका कतिपय ठाउँमा पुल नै बगाएको छ । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बगाउँदा आवागमन ठप्प भएको छ ।

यस्तै काठमाण्डौ, ललितपुर, धनकुटा, खोटाङ, इलाम, उदयपुर, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, धादिङ, रामेछाप, म्याग्दी, स्याङ्जा, पाल्पा, अर्घाखाँची, रोल्पा, गुल्मी, दाङ र हुम्लाका विभिन्न सडक अवरुद्ध छन् ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया