नागढुङ्गाबाट गाडीहरू काठमाण्डौ भित्रिँदै, बाहिर जान अझै केही समय कुर्नुपर्ने

 असोज १४, २०८१ सोमबार १३:२८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडकमा एकतर्फी रूपमा गाडीहरू चलिरहेका छन् । अहिले झ्याप्ले खोलासहितका ठाउँमा सडकको पहिरो पन्छाउने काम भइरहेकाले गाडीलाई काठमाण्डौ भित्रिन मात्रै अनुमति दिइएको प्रहरीले जनाएको छ ।

पछिल्लो चार दिनदेखि काठमाण्डौ आउनका लागि रोकिएका गाडीलाई अहिले काठमाण्डौ प्रवेश गर्न दिइएको प्रहरी प्रभाग थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो । धेरै ठाउँमा पहिरोले बाटो एकतर्फी रहेको र काठमाण्डौबाट गाडी पठाउँदा फेरि जाम हुने भएकाले पहिले काठमाण्डौ भित्रिने गाडीको लाम हटाएपछि मात्रै यताबाट जान दिइने उहाँले बताउनुभएको छ ।

बेलुकासम्म राजमार्गको पहिरो पन्छाउने काम पनि सकिने र काठमाण्डौ भित्रिनका लागि पालो कुरेका गाडीको जाम पनि सकिने अनुमान रहेको डीएसपी सुवेदीकाे भनाइ छ ।

‘अहिले सडक क्लियर नगरिकनै गाडी पठाउँदा जाम हुने, फेरि पहिरो गयो भने अर्को क्षति हुने लगायतका जोखिम छन्, त्यसैले हामीले सचेततापूर्वक सडक खुलाउने तयारी गरेका छौँ’, उहाँले भन्नुभयो ।

यसैगरी पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ र त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्गमा सडक एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

मुग्लिन नारायणगढ सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ र बन्दीपुर गाउँपालिका–१ मा सडक एकतर्फी सञ्चालन भएको छ ।

अझै पनि देशका धेरै ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–८, ११ र १२ तथा सिन्धुलीको सुनकोशी–१ मा सडक पूर्णरूपमा अवरुद्ध छ । यस्तै कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१२ र भीमफेदी गाउँपालिका–८ मा सडक पूर्णरूपमा अवरुद्ध छ । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ र गोलन्जोर गाउँपालिका–६ मा सडक पूर्णरूपमा अवरुद्ध छ ।

प्रहरीका अनुसार बाह्रबिसे–तातोपानी सडक, कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–१ र गैँडाकोट नगरपालिका–३ मा सडक पूर्णरूपमा अवरुद्ध छ ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया