दशैँकाे मुखमा कष्टकर यात्रा, कैयौं दिनसम्म गाडी र यात्रु सडकमै अलपत्र

 असोज १५, २०८१ मंगलबार १८:१२:१३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वर्षाका कारण देशका धेरैजसो राजमार्ग तथा सडक भत्किँदा महान् चाड दशैँको मुखमा यात्रा कष्टकर बनेको छ । दशैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कति बेला घर पुगिने हो ठेगान छैन । यात्रा शुरू भएदेखि नै यात्रु निकै त्रासमा देखिएका छन् ।

गएको शुक्रवार राति धादिङको झ्याप्ले खोलामा पहिरोले तीन वटा बस पुर्दा ३६ जनाको ज्यान गएसँगै यात्रा झनै जोखिमपूर्ण बनेको भन्दै यात्रु त्रसित बनेका हुन् । काठमाण्डौ आउजाउ गर्ने कुनै पनि सडकको भर छैन । यात्रुले यो दशैँमा घर पुग्न ठूलै युद्ध जितेझैँ हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले बताउनुभयो ।

हिजो मात्रै झ्याप्ले खोलाको पहिरो हटाएर काठमाण्डौबाट बाहिर जाने गाडीलाई अनुमति दिए पनि मलेखु नजिकै पहिरो खस्दा रातभर यात्रु बाटैमा रोकिन बाध्य भएका थिए । यस्तै दाउन्नेमा हिजो बेलुका बन्द भएको सडक खुलाउन आज बिहान कुर्नुपर्‍याे ।

काठमाण्डाै–नारायणगढ सडकका दर्जनौँ ठाउँँमा भत्किएको सडक र गाडीको अत्यधिक चापका कारण राम्ररी गाडी चल्नेगरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । कामचलाउका रूपमा मात्रै गाडी सञ्चालन गरिएको छ । सामान्य पानी परेमा गाडी पूर्णरूपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले बताउनुभयो । यस्तै पूर्व र पश्चिमलाई जोड्ने महेन्द्र राजमार्ग पनि राम्ररी सञ्चालन हुन सकेकाे छैन ।

नेपाल  प्रहरीका अनुसार आज पनि २० वटाभन्दा धेरै ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ । काठमाण्डौबाट पूर्व जान निकै छोटो र महत्त्वपूर्ण मानिएको बीपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको छ । यातायातको प्रणाली नै भङ्ग अर्थात् 'चेन ब्रेक' हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दशैँसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ ।

नेपाल याातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने अब दशैँकाे बुकिङ नै बन्द गर्न लागिएको बताउनुभयो । राज्यले सडक खुलाउन प्रभावकारी काम गर्न नसकेको, बीपी राजमार्गमा ६ सय वटा गाडी फसेको, चालक र सहचालकले खाना नपाएको लगायतका कारण यस्तो अवस्थामा अग्रिम टिकट बुकिङ लिनु उचित नहुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया