रोशीको बाढीले बगाएको बीपी राजमार्गको काभ्रे खण्डमा २ दिनभित्र अस्थायी सडक निर्माण गरिसक्ने तयारी

 असोज १७, २०८१ बिहीबार १५:८:१८ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चाेक – रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रूपमा सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको छ ।

रोशी खोलाको बहावलाई सोझ्याएर पहिले बगेकै ठाउँमा पुर्‍याउने र अस्थायी सडक बनाउने तयारी थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । विभागले आजदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम शुरू गरेको हो । रोशी खोलाले पहिले सडक भएको ठाउँबाट झन्डै २० देखि ५० मिटर उचाइमा कटान गरेको छ ।

सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अब खोलालाई पहिलेकै ठाउँमा बग्नेगरी सोझ्याएर पहिले सडक रहेकै ठाउँमा अस्थायी सडक बनाउनेगरी काम थालेको बताउनुभयो । अब दुई दिनभित्र एकतर्फी भए पनि गाडी चल्नेगरी अस्थायी सडक बनाउने काम गरिएको उहाँको भनाइ छ ।

मध्यपहाडी क्षेत्र हुँदै काठमाण्डौलाई पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको बीपी राजमार्ग गएको बिहानदेखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण पैदलसमेत आवतजावत गर्न असहज छ ।

सिन्धुलीमा ठाउँ–ठाउँमा बगेको सडक कसरी निर्माण गर्ने भन्ने अझै टुङ्गो छैन । सिन्धुली र काभ्रेका विभिन्न ठाउँमा सडक बगेकाले कैयाैं गाडी बीचको सडकमा फसेका छन् ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया