बाढी पहिराेले सडक–पुलकाे क्षेत्रमा २५ अर्ब क्षति, बीपी राजमार्ग तत्काल नखुल्ने

 असोज १७, २०८१ बिहीबार १६:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाढी पहिराेले क्षतविक्षत बनेकाे बीपी राजमार्ग

काठमाण्डाै – बाढी पहिरोले सडक तथा पूलको क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको सरकारले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायीरूपमा गाडी चलाउनका लागि साढे २ देखि ३ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको छ । यस्तै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

बाढी पहिरोले ३४ वटा राजमार्गका ८ सय ५ ठाउँमा सडक अवरुद्ध भएकोमा ७ सय ७४ ठाउँको पहिरो हटाएर गाडी चलाउन थालिएको पनि मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको सिन्धुली खण्ड र अरनिको राजमार्गको तातोपानी पुग्ने सडकमा गाडी चल्नेगरी मर्मत गर्नसमेत समस्या भएको मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले ५ वटा मुख्य राजमार्गका ३१ ठाउँमा अझै अवरुद्ध रहेको बताउनुभयो । अरनिको राजमार्गको लार्चा–कोदारी खण्डमा भोटेकोशीले दुई वटा पुल बगाएकोमा लार्चामा ह्युम पाइप राखेर र लिपिङमा बेलिब्रिज राखेर अस्थायीरूपमा सडक बनाउने सरकारको तयारी छ । तर तत्काल यी काम हुनेमा सरकार नै अन्योलमा छ ।

बीपी राजमार्गमा भने १२ किलोमिटर सडक पूर्णरूपमा बगेकाले सबै विकल्प अपनाएर सकभर चाँडोभन्दा चाँडो निर्माण थालिने सचिव शर्माले बताउनुभएको छ । तर दशैँअघि बीपी राजमार्ग सञ्चालनको सम्भावना नरहेको सचिव शर्माले बताउनुभयो । मन्त्रालय र सडक विभागको टोली हिजो नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । अब दशैँसम्म बीपी राजमार्ग खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा पुगेकाे उहाँले बताउनुभयो । रोशीले सडक बगाएको ठाउँमा पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन ।

भोलि वा पर्सिसम्म कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक खुलाउने तयारी छ । यस्तै काठमाण्डाैबाट नौबिसे हुँदै हेटौँडा र थानकोट–चित्लाङ हुँदै साना गाडीलाई हेटौँडासम्म जाने छोटो बाटो मर्मत गरेर चाँडै सञ्चालन गर्ने कोशिश भइरहेको सचिव शर्माले बताउनुभयो ।

अहिले काठमाण्डौ–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया