काउली उत्पादनले घरखर्च चलाउन सहज

 असोज १९, २०८१ शनिबार १८:३४:२१ | रासस
unn.prixa.net

फाइल फाेटाे

डाेटी – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिक रूपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् ।

केआईसिंह  गाउँपालिका–४ का किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आउनुभएको छ । उहाँले काउली उत्पादनबाट गएको वर्ष दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताउँदै यस वर्ष पनि झन्डै चार लाख रुपैयाँ बराबरको काउली बेच्न तयार भएको सुनाउनुभयो ।

गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका किसान धामी बताउनुहुन्छ । काउली उत्पादनले घरखर्च चलाउन विदेश जान नपरेको उहाँको भनाइ छ ।

केआईसिंह गाउँपालिका–४ का अर्का किसान डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा लगाउनुभएको काउली बेच्न तयार भइसकेको छ । गएको वर्ष एक रोपनीमा लगाएको काउलीबाट झन्डै एक लाख रुपैयाँ आम्दानी गरेको भन्दै उहाँले यस वर्ष पनि झन्डै दुई लाख रुपैयाँ बराबरको काउली तयार भएको बताउनुभयो ।

परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेका केआईसिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले जानकारी दिनुभयो । पालिकाले किसानले उत्पादन गरेका तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र केआईसिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताउनुभयो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया