चितवनमा पाहुनालाई दूध, दही र मोहीले स्वागत

 असोज २७, २०८१ आइतबार १६:४४:१५ | रासस
unn.prixa.net

चितवन – निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दशैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बजारमा उपलब्ध पेय पदार्थले सत्कार हुने गरेको थियो । यस पटक कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उहाँले भन्नुभयो ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरु अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।’उहाँको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए ।

गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो,“बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत गर्‍यौँ । उहाँले भन्नुभयो ‘बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही,मोही नै रुचाए ।’ 

विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न जानुभएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउनुहुन्छ । कृषिमा स्नातकोत्तर गर्नुभएका उहाँले भन्नुभयो ‘धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो । दूध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो ।’ सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उहाँको सुझाव छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताउनुहुन्छ । उहाँको भनाइमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरुले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् ।

जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् । 

जिल्लामा एक सय १५ वटा दुग्ध उत्पादक सहकारी छन् । तीनले दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन् । बाँकी दूध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ ।

भरतपुर महानगरपालिका–२२ मा रहेको श्री गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरुले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउनुहुन्छ । शुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उहाँले पछिल्लो समय माग बढ्दै गएको बताउनुहुन्छ ।

विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै उहाँले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिनुभयो । वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरुमा मोहीको माग अधिक हुने गरेको  छ ।

उहाँले भन्नुभयो ‘विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ ।’यस वर्षको दशैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उहाँ बताउनुहुन्छ । फूलपातीदेखि दशमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उहाँले जानकारी दिनुभयो । दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया