उत्तर कोरियाको संविधानमै दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित

 कात्तिक १, २०८१ बिहीबार १५:१४:३१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

उत्तर कोरियाको संविधानले दक्षिण कोरियालाई ‘शत्रु राज्य’ का रूपमा परिभाषित गरेको छ । उत्तर कोरियाले भर्खरै संशाेधन गरेको संविधानमा दक्षिण कोरियालाई शत्रु राज्यका रूपमा परिभाषित गरेको बीबीसीले जनाएको छ ।

उत्तर र दक्षिण कोरियाबीचको तनाव वर्षाैंयताकै उच्च विन्दुमा पुगेको अवस्थामा उत्तर कोरियाली अखबार 'रोदोङ सिनमुन' ले संविधान संशोधनलाई ‘अपरिहार्य र वैध उपाय’ का रूपमा व्याख्या गरेको जनाएको छ ।

गएको जनवरी महिनामा उत्तरका नेता किम जोङ उनले दक्षिणलाई आफ्नो सत्ताको ‘एक नम्बरको शत्रु’ भनेर घोषणा गरेयता यी दुई देशबीचको तनाव उच्च विन्दुमा पुगेको छ ।

उत्तर कोरियाले मङ्गलवार दक्षिण कोरियासँग जोड्ने सडक र रेलमार्गलाई विस्फोट गराएर ध्वस्त पारेको थियो । उत्तर कोरियाली मिडियाले यसलाई उत्तर र दक्षिण कोरियालाई पूर्णरूपमा अलग गर्ने कदमको कार्यान्वयनको भागका रूपमा वर्णन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गएको वर्षको डिसेम्बर महिनाको शुरूमै उत्तर कोरियासँग एकीकरण त्यागेका कारण केही पर्यवेक्षकहरूले संविधान संशोधनलाई ठूलो मात्रामा प्रतीकात्मक कदमका रूपमा हेरेका बीबीसीले जनाएको छ ।

दुई देशबीच सन् १९५३ मा युद्ध अन्त्य भए पनि औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर नभएका कारण अहिले पनि प्राविधिक रूपमा उत्तर र दक्षिण कोरिया एकअर्काविरुद्ध युद्धकै अवस्थामा छन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया