बाढीले निर्माणाधीन पुल भत्काउँदा २ कराेड रुपैयाँ बराबरको क्षति

 चैत २८, २०८१ बिहीबार १८:२८:२८ | रासस
unn.prixa.net

उदयपुर – आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले उदयपुरको कटारी नगरपालिका–२ अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्‍याएको छ ।

सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको कटारी–२ का वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनुभयो । 'प्रिस्टेड' प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार पुल भाचिँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरेको १८ दिनमात्र भएको थियो । ‘त्यहाँ राखिएका तारहरू २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्‍याइदियो’, उहाँले भन्नुभयो, ‘यसको बीमा गरिएको हुन्छ, अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।’

५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उहाँको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल असार २९ गते यस सडक खण्डअन्तर्गत पर्ने चार वटा पुल एकमुष्ट २८ करोड ९९ लाख ५२ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया