लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

 कात्तिक २, २०८१ शुक्रबार ९:४७:४६ | रासस
unn.prixa.net

कञ्चनपुर – औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको काम शुरु भएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा अनुसन्धान शुरु गरेको हो ।

डेल्टामेथ्रिन,अल्फासाइपरमेथ्रिन र लैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको छ । तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार सङ्कलन गरिएका लामखुट्टेलाई प्रयोगशालामा लगेर परीक्षण गरिन्छ ।

अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उहाँको भनाइ छ । विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विष्लेशण गरी विषादीले काम गरे/नगरेको निर्क्याैल गरिने अधिकृत जोशीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन शुरु गरिएको छ ।

दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको काम गरिने भएको छ । भारतमा नौ प्रजातिका लामखुट्टेले औलो सार्ने भए पनि नेपालमा गरिएको अध्ययनमा एनोफिलिस फ्युवियाटिलिस, एनोफिलिस म्याकुलाटस कम्पलेक्स र एनोफिलिस एन्युलरिस नामक तीन प्रजातिका लामखुट्टेले औलो सार्ने गरेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने औलो रोगबाट कैलाली र कञ्चनपुर उच्च जोखिममा छन् ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया