पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

 कात्तिक २, २०८१ शुक्रबार ९:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै आन्द्रेस गौसले ३० रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै रिजन ढकाल, करन केसी र गुल्सन झाले समान एक विकेट लिए ।

त्यसअघि डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए ।

आजको जीतसँगै नेपालले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया