दिल्लीबाट काठमाण्डाै आएकाे विमानमा शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

 कात्तिक ७, २०८१ बुधबार ६:१०:२७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतको विमान सेवा कम्पनी भिस्तारा एअरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।

विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । उहाँले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताउनुभयो । ‘विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच भयो । शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको हो’, सूचना अधिकारी भूलले भन्नुभयो, ‘अहिले विमानस्थलको सबै उडान सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् । ब्यागेज सम्बन्धित यात्रुलाई हस्तान्तरण गर्ने काम भइरहेको छ । विमानले नियमित उडानमा काठमाण्डाैबाट यात्रु लिएर नयाँ दिल्ली उड्ने तयारीमा रहेको छ ।’

भारतको नयाँ दिल्लीबाट काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजाे दिउँसो साढे ४ बजे अवतरण गरेको भिस्ताराको उडान नम्बर 'यूके १५५' भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले दिउँसो साढे ४ बजेदेखि बेलुकी ७ बजेसम्म विमानको जाँच गरेको थियो ।

थाहा नभएकाे मानिसकाे समूहले भिस्ताराको एअरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि काठमाण्डाै विमानस्थलमा विमानलाई पार्किङ–वेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो । विमानका यात्रुलाई विशेषरूपमा शरीर खानतलासी गरेर उच्च निगरानीका साथ अध्यागमनबाट बाहिर पठाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एअरको विमानमा बम राखेको हल्लापछि सेनाको विस्फोटक पदार्थ निष्क्रय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो । विमानमा रहेका एक सय ५७ जना यात्रुलाई खानतलासी गर्दा कुनै शङ्कास्पद वस्तु फेला नपरेको उहाँले बताउनुभयो । बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान गरिएको हो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया