म्याग्दीमा असिनापानीले तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

 कात्तिक ९, २०८१ शुक्रबार १२:१:९ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा असिनापानीका कारण तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।

स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार गएको आइतवार बेलुका परेको असिनापानीले सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो ।

टोलीले हिजो बेलुका क्षतिको विवरण सार्वजनिक गरेको हो । बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पुर्‍याएको छ ।

असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न खेतमा पुगेका थिए । सङ्कलन भएको विवरणअनुसार गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ । धेरै ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ ।

किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् । पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने वडासदस्य रिजालले बताउनुभयो । म्याग्दीको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको बालीमा क्षति भएको हो ।

कृषि ज्ञानकेन्द्र कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका पालिकाहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो ।  

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया