भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ शुरू

 कात्तिक ९, २०८१ शुक्रबार १५:३३:५४ | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ पाँच दिने तिहार 'फ्लोरा एक्स्पो' २०८१ भृकुटीमण्डपमा शुरू भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा शुरू भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । झन्डै ३५ हजार जना मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ७० लाख रुपैयाँ बराबरको फूल एवम् नर्सरी सामानको बिक्री/वितरण हुने आयाेजकले जनाएकाे छ ।

मेलाको उद्घाटन गर्दै बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आउँदाे नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाउनुभयो । पुष्प व्यवसाय प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिने समेत उहाँको भनाइ थियो ।

‘रैथाने जातका लालीगुराँस, सुनगाभालाई पनि विश्वबजारमा लैजाने गरी उत्पादन गरिनुपर्छ, यस्ता उत्पादन निर्यात गरेर युवालाई स्वदेशमै राख्ने वातावरण बनाउन सकिन्छ, गएको असोज दोस्रो हप्ताको अविरल वर्षाका कारण नर्सरी व्यवसायमा भएको क्षतिको विवरण पेश गरे राहतका लागि सहयोग हुनेछ’, उहाँले भन्नुभयो ।

वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले प्लास्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको उल्लेख गर्दै सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवर्द्धन गरिनुपर्ने बताउनुभयो । गएकाे वर्ष आयातित सयपत्री फूलका कारण नेपाली फूल बिक्री नभएपछि विभागको प्राकृतिक अनुसन्धानशालाले फूड सप्लिमेन्ट र सौन्दर्य सामग्री निर्माण भएको उहाँले सुनाउनुभयो । यो अनुसन्धानबाट तीन वटा उद्योग पनि दर्ता भएको महानिर्देशक राईले सुनाउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योग भए पनि सरकारले भने यिनको प्रवर्द्धनमा ध्यान नदिएकामा गुनासो गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् निर्यात प्रवर्दधन समितिका संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जाको व्यवस्था गरी देशमै रोजगारी प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।

मेला संयोजक एवम् आयोजक समितिका अध्यक्ष रामजीप्रसाद तिमल्सिना, उपाध्यक्ष लक्ष्मी महर्जन, निर्णायक समितिका सदस्य रबिन्द्र थापालगायतले सयपत्री फूलको प्रवर्द्धनका लागि सरकारी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेकाले कार्यान्वयनका लागि सरोकार भएका सरकारी र गैरसरकारी निकायबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया