असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे, पूर्वीनाका काँकटभिट्टाबाट पनि पर्यटकको आगमन बढ्न थाल्यो

 कात्तिक १०, २०८१ शनिबार ९:६:३७ | रासस
unn.prixa.net

काठमाण्डौ – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । अघिल्लो महिना असोजमा आठ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

यी पर्यटकबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपालीबाट एक सय, सार्क देशबाट एक हजार पाँच सय र अन्य देशका पर्यटकबाट तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । यतिबेला पर्यटनका लागि ‘सिजन’ नै चलिरहेकाले पर्यटकको सङ्ख्या बढेको हो ।

सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाण्डौ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत् लुक्ला पुग्ने गर्छन् । कतिपय सडकमार्ग हुँदै सल्लेरीबाट लुक्ला पुग्ने गर्छन् ।फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

यसैबीच पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । बितेका दुई महिनामा काँकडभिट्टाबाट आठ सय ९० जना तेस्रो देशका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो ।

सेप्टेम्बरमा दुई सय ८७ जना र अक्टोबरमा ६ सय तीन जना तेस्रो देशबाट नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताउनुभयो । नेपालको निरन्तर दबाबपछि गएको अगस्टदेखि तेस्रो देशका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया