शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक भेटियो

 कात्तिक १०, २०८१ शनिबार ९:२३:४ | रासस
unn.prixa.net

काठमाण्डौ – शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक भेटिएको छ । निकुञ्ज क्षेत्रमा गरिएको पछिल्लो अध्ययनका क्रममा भाले जङ्गली याक भेटिएको हो ।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले जङ्गली याकको तस्वीर शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रबाट लिनुभएको हो ।

चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइमा जङ्गली याक गएको जुलाई २३ देखि २६ तारिखसम्म देखिएको विभागको तथ्याङ्क छ । यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपछि निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको सहकार्यमा सम्पन्न भएको थियो ।

विगतमा तथ्याङ्क अभाव तथा स्थानीय समुदायका अनुसार जङ्गली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो । जङ्गली याक प्रायः समुद्री सतहबाट चार हजार आठ सय २५ मिटरको उचाइमा पाइन्छ ।

डब्लूडब्लूएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठका अनुसार जङ्गली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्काे जङ्गली याक देखिएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जङ्गली याकको नेपालमा खासै तथ्याङ्क छैन ।

नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जङ्गली याक देखेका र पहिलो आधिकारिक तस्वीर पनि त्यहि बेला सार्वजनिक गरिएको थियो ।  

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया