पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारत जाँदैन : भारतीय विदेशमन्त्री स्वराज

 मंसिर १२, २०७५ बुधबार १७:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पाकिस्तानमा सार्क सम्मेलन भए भारत सहभागी नहुने भएको छ ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले पाकिस्तानमा सार्क सम्मेलन भए भारत सहभागी हुन नसक्ने बताएकी छिन् । बुधबार हैदराबादमा पत्रकारहरुसँग कुरा गर्दै स्वराजले पाकिस्तानले आतंकवादी गतिविधि नरोकेसम्म भारत र पाकिस्तानबीच दुईपक्षीय सम्बन्ध सुधार नहुने बताएकी हुन् । करतारपुर करिडोरमा भारतको सहभागिता हुँदैमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार नभएको स्वराजको भनाई छ ।

मंगलबार पाकिस्तानको विदेश मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा सहभागी हुन निम्तो समेत पठाएको थियो । सार्क सम्मेलन पाकिस्तानको इस्लामाबादमा हुने भने पनि अहिलेसम्म यसको मिति तय भएको छैन । १९ औँ सार्क शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमै पाकिस्तानमा हुने तय भए पनि भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण अहिलेसम्म हुन सकेको छैन । 

करतारपुर करिडोरमा भारत र पाकिस्तान दुवैको सहभागिता रहे पनि दुई देशबीच वार्ता तथा सम्बन्ध नभएको स्वराजले स्पष्ट पारेकी छिन् । ‘भारत सरकारले करतारपुर करिडोरको विषयमा गएको २० वर्षदेखि पाकिस्तानसँग कुराकानी गरिरहेको थियो, ‘स्वराजले भनेकी छिन्, ‘पाकिस्तानले पहिलो पटक सकारात्मक जवाफ दिएको छ, यसको अर्थ पाकिस्तान र भारतीय पक्षबीच वार्ता तथा सम्बन्ध सुरु भएको भन्ने होइन ।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले करतारपुर करिडोरको शिलान्यास गरेपछि भारतीय विदेशमन्त्री स्वराजको यस्तो प्रतिक्रिया आएको हो । यो करिडोर ६ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । यो करिडोर बनिसकेपछि भारतीय नागरिक पाकिस्तानमा पर्ने गुरुद्वारासम्म बिना भिसा जान सक्नेछन् ।

पूर्व क्रिकेटर तथा भारतीय कांग्रेसका नेता नवजोत सिंह सिद्धू पनि करतारपुर करिडोरमा सहभागी हुन पाकिस्तान गएका छन् । पाकिस्तानले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई करतारपुर करिडोरको उद्घाटनमा सहभागी हुन बोलाएको भए पनि उनले व्यस्तताको कारण देखाउँदै पाकिस्तान जान नसक्ने बताएको बीबीसी हिन्दीले जनाएको छ ।

स्वराजको ठाउँमा केन्द्रीय मन्त्री हरसिमरत कौर बादल र हरदीप सिंह पुरी करिडोर उद्घाटनमा सहभागी भएका थिए । पूर्व क्रिकेटर तथा भारतीय कांग्रेसका नेता नवजोत सिंह सिद्धू भारतीय प्रधानमन्त्री इमरान खानको सपथ ग्रहणमा गएपछि यो करिडोरको चर्चा भएको हो ।

सिद्धूले कतारपुर करिडोर खोल्ने प्रस्ताव गरेपछि पाकिस्तानले पनि सकारात्मक जवाफ दिएको थियो । धेरैले करतारपुर करिडोरका कारण भारत–पाकिस्तान सम्बन्ध सुध्रने बताइरहेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया