भारतमा रोगको सङ्क्रमण देखिएका कारण सयपत्री फूलको आयातमा प्रतिबन्ध

 कात्तिक १५, २०८१ बिहीबार १४:३६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा सयपत्री फूलमा विभिन्न रोगको सङ्क्रमण देखिएका कारण सरकारले सयपत्री आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

सयपत्री फूल वा सयपत्रीका माला भित्राएमा त्यसबाट भारतमा देखिएका झण्डै डेढ दर्जन किरा र रोग पनि भित्रिएर नेपालको सयपत्री फूललाई असर गर्ने भएकोले प्रतिबन्ध लगाएको प्लान्ट क्वारेन्टीन तथा व्यवस्थापन केन्द्रको क्वारेन्टिन नियमन शाखाका इन्चार्ज प्रकाश पौडेलले बताउनुभयो ।

कतै अबैध रुपमा भित्रिरहेको भए पनि सुरक्षा निकायलाई जानकारी गराएर जमिनमुनी गाडी नष्ट गर्नुपर्ने उहाँको भनाइ छ । यसवर्ष असोजको दोस्रो हप्ताको वर्षा र वर्षाजन्य विपद्ले क्षति पुर्‍याउँदा तिहारमा सयपत्रीको अभाव हुने पुष्प व्यवसायीहरुको भनाइ छ ।

उनीहरुले सयपत्री फूलको झन्डै १५ प्रतिशतले अभाव हुनसक्ने भन्दै आयात खुल्ला गर्न अनुरोध गरेका थिए । तर जैविक सुरक्षाका कारण अनुमति दिन नसकिएको केन्द्रले जनाएको छ ।

नेपालमा तिहारको समयमा ४० लाखवटा भन्दा बढी सयपत्री फूलको मालाको व्यापार हुने अनुमान छ । जसमध्ये ३० देखि ३५ लाखजति माला नेपालकै उत्पादनबाट पूर्ति गर्न सकिने पुष्प व्यवसायीहरु बताउँछन् ।

ललितपुरको गोदावरीमा रहेको पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले गएको वर्ष सयपत्रीको झण्डै ९५ प्रतिशत माग आन्तरिक उत्पादनले धानेको भन्दै यो वर्ष केही अभाव भएमा त्यसको सट्टा गोदावरी र मखमली फुलको प्रयोग गर्नुपर्ने बताउनुहुन्छ ।

नेपालमा देशका धेरैजसो ठाउँमा सयपत्री फूलको उत्पादन हुन्छ । ५२ जिल्लामा व्यवसायिक खेती विस्तार भइसकेको छ भने धेरैजसो घरमा सयपत्री रोप्ने गरिएको छ । फ्लोरिकल्चर एसोसिएशनले तिहारको समयमा झण्डै ३७ करोड रुपैयाँको फूलको करोबार हुने अनुमान् गरेको छ ।  

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया