सातगाउँले जात्रा शुरू, कीर्तिपुर र चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा

 मंसिर २४, २०८१ सोमबार १०:२१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँले जात्रा शुरू भएको छ । कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा जात्रा हुने गर्छ ।

सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ । काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ ।

आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार भोलि बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित चन्द्रागिरी तीनथानामा रहेको विष्णुदेवी मन्दिरमा ल्याउने गर्छन् ।

भोलि नै कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई ठाउँमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा छ । सातगाउँले जात्राका अवसरमा कीर्तिपुर नगरपालिका क्षेत्रभर भोलि सार्वजनिक बिदा दिएको छ । कीर्तिपुर नगरपालिकाको नगर कार्यपालिकाको हिजोको बैठकले भोलि बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस्तै सातगाउँले जात्रा हुने चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाहरुमा पनि भोलि सार्वजनिक बिदा दिइएको छ । भोलि वडा नम्बर ८, ९, १०, ११, १३, १४ र १५ मा सार्वजनिक बिदा दिइएको नगरप्रवक्ता कृष्णप्रसाद खड्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १० र ११ मा २७ गते पनि बिदा दिइएको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया