‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरूसँग छलफल गर्नुभएको छ । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आज मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्यानुभवमा रहेका पूर्वकार्यकारी निर्देशकहरूसँग छलफल गर्नुभएको हो ।
छलफलमा मन्त्री खड्काले सुक्खायाममा भारतबाट बिजुली आयात गर्नुपर्ने र भारतीय बिजुलीप्रति भर पर्नुपर्ने कारण तथा यसको समाधानका विषयमाथि विज्ञहरूको राय लिनुभएको थियो । उहाँले विद्युत् चुहावट नियन्त्रण, बक्यौता असूली तथा प्राधिकरणको सुधार र सबलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा राय–सुझाव माग्नुभएको थियो ।
मन्त्रालयका सचिव सुरेश आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि अहिले भइरहेका प्रयासका बारेमा जानकारी गराउँदै आउँदा दिनमा गर्न सकिने विकासका कार्यका बारेमा सुझाव माग गर्नुभएको थियो । छलफलमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा. मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताउनुभयो ।
छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरूले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकाले त्याे लक्ष्यलाई पूरा गर्नका लागि जलाशययुक्त आयोजना कार्यान्वयनमा लैजान जोड दिनुभएको थियो । पूर्वकार्यकारी निर्देशकहरूले नेपालको ऊर्जा क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताएका थिए ।
छलफलमा डा. मुकेशराज काफ्लेसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्य, उत्तरकुमार श्रेष्ठ, रामेश्वर यादव, हरिशचन्द्र शाहलगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।