लुम्बिनीमा चार वर्षदेखि थन्किएका बिजुली बस सञ्चालन

 पुष ५, २०८१ शुक्रबार ९:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय बस सञ्चालन हुन थालेको छ । यसअघि कानूनी समस्याका कारण सञ्चालन हुन नसकेका दुई वटा बस हिजोदेखि परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो ।

एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त विद्युतीय गाडीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

एडीबीले अनुदान सहयोगमा दिएको पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई चार वर्षअघि हस्तान्तरण गरेको थियो ।

यसअघि पर्यटक सेवाका लागि हरियो नम्बरप्लेट बनाउने कानूनी प्रावधान रहेकामा मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि सञ्चालनमा समस्या भएको थियो । दाताले दिएका गाडीलाई विकास कोषले परीक्षणका रूपमा दानपेटिका राखेर सञ्चालन गरिएको जनाएको छ ।

कोषका अनुसार बुटवलबाट भैरहवा विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रूटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रूपमा दानपेटिकामा रकम दिन सक्ने कोषले जनाएको छ ।

यसअघि कोषले वि.सं.२०७९ असोज १३ गतेदेखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशूल्क रूपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । 
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया