नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – मानव अधिकारका लागि दक्षिण एशियाली संस्था (एसएएचआर) को आयोजनामा आज ललितपुरकाे पाटन ढाेकमा रहेकाे यलमाया केन्द्रमा भुटानी शरणार्थीहरूले भोगेका मानव अधिकार हननका विषयमा केन्द्रित सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा शरणार्थीहरूको अवस्था, उनीहरूमाथि भइरहेको मानव अधिकार उल्लङ्घन र भर्खरैकाे ‘नक्कली शरणार्थी घोटाला’ माथि छलफल भएकाे छ ।
कार्यक्रममा एसएएचआरका कार्यकारी निर्देशक दीक्षा इलाङ्गासिङ्ले झापा र मोरङका शिविरहरूमा बसोबास गरिरहेका ६ हजार ५ सय जनाभन्दा बढी भुटानी शरणार्थीको दुर्दशाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सरकार, छिमेकी देश र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई तत्काल कदम चाल्न आग्रह गर्नुभयो । उहाँले शरणार्थीहरूका लागि शिक्षा, स्वास्थ्य सेवा र खाद्यान्न आपूर्ति पुनर्स्थापित गर्न तथा उनीहरूको गरिमापूर्ण जीवन सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार देवेन्द्र भट्टराईले शरणार्थीहरूले राज्यबाट आधारभूत अधिकार, जन्मदर्ता, मृत्युदर्ता र अन्य प्रमाणपत्रसमेत नपाएको उल्लेख गर्दै ‘नक्कली शरणार्थी घोटाला’ ले अवस्था थप बिगारेको बताउनुभयो । ‘यी व्यक्तिहरू दशकौंदेखि न्याय तथा घर फर्कने र पारिवारिक पुनर्मिलनको अवसरको प्रतीक्षामा छन् । अब निर्णायक रूपमा कदम चाल्ने समय आएको छ’, उहाँले भन्नुभयो ।
शरणार्थी शिविरहरूमा अपाङ्ग, वृद्ध र असहाय व्यक्तिहरू ठूलो सङ्ख्यामा छन् । तर सन् २०१६ मा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त कार्यालयको सहायता रोकिएपछि उनीहरू स्वास्थ्य, शिक्षा र पर्याप्त आवासजस्ता आधारभूत सेवाबाट वञ्चित छन् । अहिले पनि उनीहरू सन् १९९० को दशकमा निर्माण गरिएका अस्थायी आश्रयस्थलमै बसिरहेका छन् ।
कार्यक्रममा दक्षिण एशियाली मानव अधिकार संस्था (एसएएचआर) ले भुटानी शरणार्थीहरूको स्थिति सुधार गर्न नेपाल सरकार, भुटान, भारत र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई निर्णायक कदम चाल्न आग्रह गरेको छ ।
एसएएचआरले नेपाल सरकारलाई शिक्षा, स्वास्थ्य र खाद्यान्न आपूर्ति पुनर्स्थापना, ’नक्कली शरणार्थी घोटाला’ को निष्पक्ष छानबिन र शरणार्थी महासन्धि अनुमोदन गर्न माग गरेको छ । यस्तै भुटान सरकारलाई राजनीतिक बन्दीहरूको रिहाइ, भुटानी शरणार्थीहरूको फिर्ता जाने अधिकार स्वीकार र भेदभाव अन्त्य गर्न राजनीतिक समाधान सुनिश्चित गर्न आग्रह गरेकाे छ ।
यस्तै एसएएचआरले भारत सरकारलाई नेपाललाई वार्तामा समर्थन र भारतमा रहेका भुटानी शरणार्थीहरूलाई कानूनी मान्यता र कामको अनुमति दिन भनेको छ । अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई सहायता कार्यक्रम पुनः सञ्चालन र शरणार्थीहरूको न्याय सुनिश्चित गर्न पहल गर्न आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।