जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

 पुष ५, २०८१ शुक्रबार १७:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन ।

यसअघि नै प्रतिवादी बनाइएका १९ जनाविरुद्ध आज थप पूरक अभियोगपत्र दर्ता भएको जिल्ला अदालत कास्कीले जनाएको छ । पुरानो मुद्दामा एक अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा अहिले ४० करोड रुपैयाँ थपिएको छ ।

रास्वापा सभापति रवि लामिछानेसहितका पाँच जना नयाँ आरोपितलाई प्रतिवादी कायम गरेको अभियोगपत्र पर्सि आइतवार मात्र दर्ता हुने कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आज पूरक अभियोजन दर्ता भएका प्रतिवादीहरूलाई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअन्तर्गतको कसूरमा मुद्दा चलाउन सिफारिश गरेको छ । रवि लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा दर्ता गर्नुपर्ने रायसहित प्रहरीले गएको सोमवार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सहकारी ठगीको आरोपमा प्रहरीले लामिछानेलाई गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर कास्की लगेको थियाे । त्यसपछि प्रहरीले लामिछानेलाई रुपन्देही, काठमाण्डौ, चितवन र पर्सा लगेर बयान लिएको छ ।

सम्पत्ति शुद्धीकरण मामिलामा समेत अनुसन्धान गर्दा प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । लामिछाने जोडिएकै कसूरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक छविलाल जोशी पक्राउ परेको आज राति ९० दिन पूरा हुने भएकोले आइतवारसम्ममा मुद्दा दर्ता भइसक्नुपर्नेछ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया