काठमाण्डौलाई हेटौँडा हुँदै तराईसँग जोड्ने चुरियामाई सुरुङमार्ग आजदेखि खुल्ने

 पुष ८, २०८१ सोमबार १२:१६:५९ | रासस
unn.prixa.net

 मकवानपुर – चुरियामाई सुरुङमार्ग आजदेखि खुल्ने भएको छ । जीर्णोद्धारको लामो पर्खाइपछि बाग्मती प्रदेश सरकारले आज हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएपछि सुरुङमार्ग नागरिकले अवलोकन गर्न पाउने गरी खुल्ने भएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग बाग्मती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिकालाई हस्तारन्तरण गर्दै छ ।

प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माण गरेपछि सुरुङ सञ्चालनको व्यवस्थापन कसले गर्ने भन्ने अन्यौलता थियो ।

समयमै कार्यविधि नबन्दा र सञ्चालनको लागि तदारुकता नदेखाउँदा सुरुङमार्ग जिर्णोद्धार भएको आठ महिनापछि मात्रै खुल्न लागेको हो ।

अहिले हेटौँडा उपमहानगरपालिकाले सुरुङमार्गको व्यवस्थापन र सञ्चालन गर्ने सहमति भएपछि सर्वसाधरणका लागि खुला गर्न लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले जानकारी दिनुभयो ।

२०७९ वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम शुरू भएको १९८ मिटर लम्बाइको सुरुङमार्ग पुनर्निर्माणको काम सम्पन्न हुँदासम्म झण्डै दुई सय २५ मिटर पुगेको छ ।

ऐतिहासिक महत्त्वको सुरुङमार्ग पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित बाग्मती प्रदेश सरकारले जीर्णोद्धारको काम थालेको थियो ।

काठमाण्डौलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको यो सुरुङमार्ग दक्षिण एशियाकै पहिलो सुरुङमार्ग मानिन्छ । 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया