खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
सयौंको सङ्ख्यामा उडेका चराहरूलाई देख्दा लाग्छ : यिनलाई गन्न सकिएला र ? चरा त एकैछिनमा कोसौं टाढा पुग्छन् । एउटा रुखमा बसेका चराहरू क्षणमै अर्कै रुखमा सर्छन् । बगैंचामा देखिएका चराहरू पोखरीमा पुग्छन् र पोखरीका चराहरू खेतबारीमा छरपस्ट हुन्छन् । यस्तो अवस्थामा चराको गणना गर्न सकिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
अहिले नेपालसहित दक्षिण एशियाका देशमा चरा गणना चलिरहेको छ । पंछी विज्ञहरूले वैज्ञानिक विधि र आधुनिक प्रविधिको प्रयोग गरेर चराको गणना गर्ने गरेका छन् । निश्चित समयको अन्तरालमा गरिने यस्तो गणनाले चराको सङ्ख्या र तिनीहरूको बासस्थानको अवस्थाबारे महत्वपूर्ण जानकारी दिन्छ ।
विज्ञानको दृष्टिमा चराको गणना अत्यन्तै महत्वपूर्ण छ । यसले प्रकृतिको स्वास्थ्य र पर्यावरणीय सन्तुलनको सङ्केत गर्छ । नेपालमा सन् १९८७ देखि हरेक वर्ष जलपन्छी अर्थात् पानी चराको गणना हुँदै आएको छ । वेटल्याण्ड्स इन्टरनेशनलले दक्षिण एसियाका सबै देशहरुमा हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि दुई हप्तासम्म पानी चरा गन्ने काम गर्छ ।
नेपालमा वेटल्याण्ड्स इन्टरनेशनलले कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाण्डौ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा चार सयभन्दा बढी विशेष सीप भएका गणकहरु खटाएको पंछीविद् सङ्घका वरिष्ठ चराविद् तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले जानकारी दिनुभयो ।
कसरी गन्छन् त गणकहरुले ?
जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयाल भन्नुहुन्छ ‘छिनमै उडेर अन्यत्र जाने र समूहमा बस्ने चरा गन्दा दोहोरिने वा छुट्ने शङ्का स्वभाविक हो । तर तालिमप्राप्त गणकहरु खटिने भएकोले त्यो सम्भावना निकै कम हुन्छ । शतप्रतिशत सही नतिजा नआए पनि सत्यको नजिक नतिजा आउने भएकोले यसले पानी चराको अवस्था थाहा पाउन मद्दत पुग्छ ।’
पानी चरा गणनाका लागि गणकहरु सिमसार क्षेत्रमा प्रायः बिहानीपख जान्छन् । गणनाकर्ताहरू दुई–तीन जनाको समूहमा विभाजित भएर काम गर्छन् । हरेक समूहले निश्चित क्षेत्र तोकेर गणना गर्छन् । यसो गर्दा एउटै चरालाई दोहोरो गणना हुनबाट बचाउन सकिन्छ ।
चराविद् पौड्यालका अनुसार चरा गन्नको लागि विभिन्न विधिको प्रयोग गरिन्छ । जसमा सबैभन्दा महत्वपूर्ण प्रत्यक्ष गणना विधि हो । यसमा सिमसार क्षेत्रमा देखिएका सबै जलपंछीको सङ्ख्या गनिन्छ । समूहमा बाँडिएका गणकहरु निश्चित दूरी हिँडेर वा पानीमा डुङ्गा चलाएर पुग्छन् । त्यसबेला देखिएका चरा गन्नुको साथै फोटो समेत खिचेर सङ्ख्या निर्धारण हुन्छ । दूरबिनको प्रयोग गरेर टाढा रहेका चराको गणना गर्न सकिन्छ ।
यस्तै चरा गन्नको लागि नमूना गणना विधिको प्रयोग पनि गरिन्छ । ठूलो क्षेत्रमा फैलिएका चराहरूको सङ्ख्या अनुमान गर्न केही भागमा मात्र गणना गरिन्छ । यस्तै डुङ्गा वा नाउको प्रयोग गरेर पानीको सतहबाट गणना गर्ने र सिमसारको किनारमा बसेर दूरबिनको सहायताले गणना गरिन्छ ।
चराविद् लक्ष्मणप्रसाद पौड्यालका अनुसार गणकहरुले चराको प्रजाति पहिचान, हरेक प्रजातिको सङ्ख्या, सम्भव भएसम्म चराको लिङ्ग, चराको उमेर समूह जस्तै बच्चा वा वयस्क, चराको व्यवहार जस्तै चरिरहेको, पौडिरहेको, उडिरहेको, चरा देखिएको समयको मौसम र वातावरणीय अवस्था समेत अभिलेख गर्ने गर्छन् ।
सबै तथ्याङ्कहरू एकीकृत गरेर जलपन्छीको वर्गीकरण, वितरण र संख्यात्मक विश्लेषण गरिन्छ । यसले जलपंछीको संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ । गणनाका क्रममा विशेष उपकरणहरूको प्रयोग गरिन्छ । जसमा दूरबिन र स्कोप, जीपीएस क्यामेरा, गणना फारम, समय मापन घडी, मौसम मापन यन्त्र लगायत छन् । पछिल्ला वर्षहरुमा गणनाको विवरण सिधै प्रविधिमा प्रविष्ट गर्ने क्रम शुरु भएको छ ।
घट्दै पानी चरा
नेपालमा अहिलेसम्म अभिलेख भएका चराका आठ सय ९७ प्रजातिमध्ये झन्डै दुई सय प्रजातिका पानीचरा छन् । यीमध्ये झन्डै एक सय प्रजाति बसाइँ सरेर आउने हुन् । नेपालमा पानीचराका प्रजातिहरू मुख्यतया कोशी टप्पु वन्यजन्तु आरक्ष, जगदिशपुर जलाशय, फेवाताल, विशहजरिया ताल, रारा ताल जस्ता सिमसार क्षेत्रहरूमा पाइन्छन् ।
कोशी टप्पु नेपालको सबैभन्दा महत्वपूर्ण जलपन्छी बासस्थान हो । कोशीटप्पुमा हिउँदमा झन्डै ५० हजार पानीचरा विचरण गर्छन् । कोशीटप्पुमा दुर्लभ मानिएका ग्रेटर एड्जुटेन्ट स्टर्क, स्पट–बिल्ड पेलिकन, ब्ल्याक नेक्ड स्टर्क जस्ता प्रजातिहरू पनि पाइन्छन् ।
तर पछिल्ला वर्षहरूमा पानीचराको सङ्ख्यामा केही गिरावट आएको छ । गएको वर्ष देशभरका ७९ सिमसार क्षेत्रमा ६२ हजार नौ सय १२ पानीचरा गणना गरिएको थियो । तर पाँच वर्षअघि सन् २०१९ मा ६६ सिमसार क्षेत्रमै ६९ हजार पाँच सय ६३ पानीचरा गणना गरिएको थियो ।
चराविज्ञ आरेन्ड भान रिजेनको पुस्तक ‘द बर्डस् अफ बाग्मती एन्ड टौदह एरिया, २००३–२०१६’ मा जाडोयाममा बसाइँ सरी काठमाण्डौ उपत्यकाको बागमती र टौदह सिमसार क्षेत्रमा आउने ५२ प्रजातिका पानीचराको सङ्ख्या १४ वर्षमा तीव्र गतिमा घटेको उल्लेख छ ।
पानीचराको सङ्ख्या घट्दै जानुमा सिमसार क्षेत्रको विनाश, जलवायु परिवर्तन, अव्यवस्थित माछा मार्ने क्रम, किटनाशक विषादीको प्रयोग, उडान मार्गमा हुने अवरोध, बासस्थानमा मानवीय अतिक्रमण लगायत रहेका चराविद् विमल थापामगर बताउनुहुन्छ ।
यस्तै बसाइँ सरेर आउने चरा लामोदूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको जोखिम बढेको छ । चराहरु चिसो छल्न सयौं किलोमिटर उडेर आउँछन् । हरेक वर्ष झन्डै सय प्रजाति पानीचराहरु सयौं किलोमिटर दूरी पार गरेर नेपाल आउने गरेका छन् । किन चराहरु नेपाल आएछन् भन्ने प्रश्न स्वभाविक हो ।
चराको बसाइँ सराइ
उत्तरी ध्रुवमा हिमपात शुरुवात शुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । बढी चिसोले उता आहारविहार र खानपानमा समस्या भएपछि जाडो छल्न यता आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काइ फर्कने गर्छन् ।
रूस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एशियाका तुर्केमिनिस्तान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् । चारदेखि पाँच हजार माईल उडेर चरा सातादेखि १० दिनमै यहाँ आइपुग्छन् । ‘धेरै चरा सिधै उडेर तीन/चार दिनमै पुग्छन्,’ चराविद् विमल थापामगर भन्नुहुन्छ ‘कतिपय रोकिँदै बीच–बीचमा बास बस्दै साता लगाएर पुग्छन् ।’
चरा उडेर हजारौं माइलको यात्रामा अनेकौं जोखिम पार गर्दै नेपाल आउँछन् । यता आउँदा यिनीहरुले गन्तव्यसम्म पुग्ने दिशा र बाटो पहिचानका लागि सूर्य तथा ताराको सहारा लिँदै आउने थापाको भनाइ छ । त्यस्तै नदी, भौगोलिक श्रृंखला, चुम्बकीय दिशा आदि हेर्छन् । चराले बसाइँ–सराइका बेला प्रयोग गर्ने बाटोलाई ‘फ्लाई वे’ भनिन्छ । विश्वमा आठ वटा यस्ता बाटा छन् । तीमध्ये नेपाल मध्य एशिया बाटोमा पर्छ ।
पानी चरा र सिमसारको सम्बन्ध
पानीचरा घट्दै गएकाले बेलैमा सतर्क हुनुपर्ने चराविद् विमल थापामगरको भनाइ छ । सिमसार क्षेत्रमा आश्रित पानीचरा पछिल्ला वर्षमा सिमसार क्षेत्र संकुचित र नासिदै जाँदा घट्दै गएका छन् । जलपंछी अर्थात् पानी चरालाई प्रजनन, चरन र विचरणका लागि जलीय पर्यावरण आवश्यक पर्छ । पानी चरालाई सिमसारको स्वस्थता र बदलिँदो मौसमको सूचक मानिन्छन् । त्यसैले पानी चरा घट्नुको अर्थ विशिष्ट पारिस्थितिकीय क्षेत्र रहेको सिमसार बिग्रनु पनि हो ।
सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल तथा विषादीको चुहावट, ढल तथा फोहोर विसर्जन, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवर्द्धनका नाममा तालतलैयामा अनावश्यक भौतिक संरचनाको निर्माण लगायतले सिमसारमा हानी गरिरहेको छ ।
हरेक वर्ष हुने चरा गणना सामान्य जस्तो लागे पनि यसले हाम्रो पर्यावरणीय अवस्थालाई देखाइरहेको छ । गणनाकै तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पानी चराको सङ्ख्या घटिरहेको देखाएकोले संरक्षणका लागि थप पहल हुनु आवश्यक छ ।
फोटो सौजन्य : चुङ्बा शेर्पा, वाइल्डलाइफ फोटोग्राफर
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।