मधेश प्रदेश भूमि मन्त्रालयकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 पुष २२, २०८१ सोमबार १४:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मशेध प्रदेशकाे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । पाँच जनासँग जनही एक करोड र तीन जनासँग जनही ५० लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

भ्रष्टाचारको मुद्दा लाग्नेहरूमा सचिव सिंहसहित कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सह लेखापाल ब्रजेशकुमार साह र युवरानी मत्स्य तथा कृषि फार्म प्रालीका सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादव रहेका छन् । यस्तै मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधामका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख एवम् कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

नक्कली बिल भर्पाईकाे आधारमा भुक्तानी दिएको र विशेषता अनुसारको सामान खरिद नगरेको विषयमा आयोगमा उजुरी परेपछि आयोगले अनुसन्धान गरी मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया