अछामको दुईवटा वडा छाउगोठ मुक्त घोषणा

 मंसिर १७, २०७५ सोमबार १०:१३:३७ | चन्द्र थापा
unn.prixa.net

अछाम – मेल्लेख गाउँपालिकाको वडा नम्वर १ र २ लाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले शनिबार वडानम्बर २ को डाँडासिरीमा पत्रकार सम्मेलन गरी २ वटै वडालाई छाउगोठ मुक्त घोषणा गर्नुभएको हो ।

जनयुद्ध कालदेखिनै छाउपडी कुप्रथा नमान्ने ऋषिदहमा शान्ति प्रक्रिया पछि फेरि छाउगोठ केही मात्रामा अस्तित्वमा आएका थिए । पछिल्लो २ वर्ष यता स्थानीय महिला सञ्जालहरु, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी प्रथा मान्ने प्रचलन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ ।

छाउपडीको नाममा विभिन्न संघ संस्थाले कार्यक्रम सञ्चालन गर्ने, छाउगोठ भत्काउने र तामझामसहित गोठमुक्त घोषणा गर्ने तर ब्यावहारमा छाउपडी कुप्रथा कायमै रहने अवस्थालाई चुनौती दिन पत्रकार सम्मेलन गरी गोठमुक्त घोषणा गरिएको अध्यक्ष बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘महिला दिदिबहिनीकै सक्रियतामा मेल्लेख गाउँपालिकाको वडा नम्बर १ र २ लाई छाउ गोठमुक्त घोषणा गर्न सफल भएका छाँं, अन्य स्थानीय तहमा पनि विस्तारै यस्ता कुप्रथाको अन्त्य गर्दै जानेछौँ ।’ छाउपडी कुप्रथा विरुद्धको अभियानमा सक्रिय महिला संजाल र आमा समूहलाई गाउँपालिकाले सम्मान तथा पुरस्कारसहित अन्य कार्यक्रम पनि प्रदान गर्ने अध्यक्ष बोहराले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Ramesh Dhami

    Dec. 4, 2018, 4:41 p.m.

    राम्रो भयो हाम्रो गाउँपालिकाको महिलाले अकालमा ज्यान गुमाउनु भएन / I am so much happy because of our sister and mother anti they can stay in home.

  •  0 Reply

तपाईको प्रतिक्रिया