तोकिएको ठाउँमा सडक बन्नुपर्ने माग गर्दै मन्थली नगरपालिकाकी उपमेयरद्वारा निवेदन

 पुष २८, २०८१ आइतबार १८:११:३४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको मन्थली नगरपालिका–४ सालुको च्याउकेठाँटी हुँदै रामेछाप नगरपालिकाको भालुखोपतर्फ जाने सडक तोकिएकै ठाउँमा बन्नुपर्ने माग गर्दै मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले निवेदन दिनुभएको छ । यो सडक तोकिएको भन्दा फरक तरिकाले निर्माण गर्न लागेको भन्दै उपमेयर बस्नेतले सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापमा निवेदन दिनुभएको हो ।

मन्थली–४ सालुको च्याउकेठाँटीदेखि रामेछाप नगरपालिकाको भालुखोपतर्फ जाने सडक रामेछाप नगरपालिकाको ओख्रेनी क्षेत्रमा मात्र निर्माण गर्ने गरी सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापले ठेक्का आह्वान गरेपछि उपमेयरको नेतृत्वमा सालुका बासिन्दा आन्दोलित भएका हुन् ।

शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षको कार्यक्रममा यो सडक निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको थियो । सडकको प्रस्थान विन्दु च्याउकेठाँटीबाट काम शुरू हुनुपर्नेमा सघन शहरी तथा भवन निर्माण आयोजनाका कर्मचारीले रामेछाप नगरपालिकाका जनप्रतिनिधिले भनेबमोजिम ठेक्का आह्वान गर्नु दुःखद भएको मन्थली–४ का वडाध्यक्ष राजन घिमिरेले बताउनुभयो ।

सडक निर्माण गर्ने कार्यक्रममा च्याउकेठाँटी–गाईटार–भालुखोप सडक उल्लेख भएकाले रामेछापका जनप्रतिनिधिको सिफारिशका आधारमा रामेछाप–६ ओख्रेनी क्षेत्रमा सडकको नाप–जाँच र सर्वेक्षण गरी त्यहीअनुसार टेन्डर आह्वान गरेको सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर शिवराम महर्जनले जानकारी दिनुभयो ।

तत्कालीन जिल्ला विकास समितिले कृषि सडक कार्यक्रमअन्तर्गत सालुको च्याउकेठाँटीदेखि भालुखोपसम्मको सडक निर्माण गरेको थियो । त्यही सडकमा नाला, टेवा पर्खाललगायतका काम बाँकी रहेको तथा साँघुरो सडकलाई चौडा गर्ने र केही अन्य पूर्वाधारको कामसमेत गर्ने गरी ठेक्का आह्वान भएको हो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया