रवि लामिछाने धरौटी बुझाएर रिहा, अदालतको आदेश, ‘कसुरदार छैनन् भन्न सकिएन’

 माघ ३, २०८१ बिहीबार ६:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा हुनु भएको छ । हिजो जिल्ला अदालत काठमाण्डौमा ६० लाख रुपैयाँ धरौटी बुझाएर उहाँ रिहा हुनुभएको हो ।

लामिछानेले प्रभु बैङ्कको बैङ्क ग्यारेन्टी धरौटीको रुपमा बुझाउनुभएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउनु हुनेछ ।

काठमाण्डौ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको एक अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदिएकोले प्रस्तुत मुद्दाको प्रकृति समेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट ६० लाख रुपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नू’ अदालतको आदेशमा उल्लेख छ ।

अदालतले मागेको धरौटी बुझाएर छुटेपछि लामिछानेले न्यायालयलाई धन्यवाद दिनुभएको छ । ‘न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु’उहाँले भन्नुभएको छ ।

यसअघि अघिल्लो बिहीवार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले मागेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा हुनुभएको थियो ।

लामिछानेमाथि कास्की र काठमाण्डौबाहेक रूपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ ।   
 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया