सरकारले संसद् छलेर अध्यादेश ल्याएकोमा प्रतिपक्ष दलहरूको आपत्ति

 माघ ४, २०८१ शुक्रबार १६:२७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – सरकारले संसद्मार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह पनि गरेका छन् । सरकारले तत्काल अधिवेशन नबोलाएमा विशेष अधिवेशन माग गर्ने प्रतिपक्ष दलहरूले बताएका छन् ।

संयुक्त वक्तव्य जारी गर्न आज संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणमा राजनीतिक हस्तक्षेप गरेको, भूमिहीन तथा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने बहानामा भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरेको प्रतिपक्षी दलहरूकाे ठहर छ । विगतमा अघि बढाइएका गिरिबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेको उनीहरूको आरोप छ ।

शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

वर्तमान एमाले–कांग्रेस नेतृत्वको सरकार गठन भएको ६ महिना बितिसक्दा पनि अपेक्षाअनुसार काम गर्न नसकेको, अर्थतन्त्र समस्याग्रस्त नै रहेकोलगायत निष्कर्षसहित प्रतिनिधिसभाका सात दल एक ठाउँमा उभिएका हुन् ।

सरकारले महँगी र भ्रष्टाचारलाई बढावा दिएको, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको र संसद्लाई छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको विपक्षी दलको आरोप छ । सरकारलाई दबाब दिन तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका उनीहरूले सरकारले अटेर गरे सडक सङ्घर्ष गर्नेसम्मको चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया