हिउँद सुक्खा हुँदा आगलागी र डढेलोका घटना बढ्न थाले

 माघ १३, २०८१ आइतबार १५:९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – हिउँद सुक्खा हुँदा आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । मध्य माघ भइसक्दा पनि यसपालि छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात हुन सकेको छैन । यसले कृषि क्षेत्र प्रभावित हुनुका साथै वायु प्रदूषणसँगै आगलागी र डढेलोका घटना बढ्न थालेको विज्ञले बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काभ्रेको बेथानचोक गाउँपालिका–३ को नाराणस्थान सामुदायिक वन र जनजागृति सामुदायिक वन तथा वडा नम्बर–५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो नियमन्त्रणमा आउन सकेको छैन ।

सुक्खा मौसममा डढेलो लाग्ने र फैलने जोखिम उच्च हुन्छ । यसले वनमा मात्र क्षति नगरी बस्तीमा पसेर आगलागी निम्त्याउँछ । नेपालमा मनसुन भित्रिने बेला अर्थात् जेठ अन्तिमसम्म नै यस्ता घटना हुँदै आएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण डढेलो र आगलागीका घटना धेरै हुने गरेको पाइएको छ । उहाँले आगलागी र डढेलोका घटना न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभएको छ । डढेलो नियन्त्रणका लागि पर्याप्त बजेट र डेडिकेटेड संरचना बनाउन पनि उहाँको सुझाव छ ।

विपद् हेर्ने एकल अधिकार पालिकामा रहेको भन्दै शर्माले उनीहरूको क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिएर विद्यमान कानूनलाई परिमार्जनसहित समयानुकूल बनाउनुपर्ने उहाँको सुझाव छ ।

नेपालमा डढेलो हेर्ने संरचनागत निकाय नरहेको, बजेट, दक्ष जनशक्ति र प्रविधिको अभाव रहेको हुँदा वन तथा वातावरण मन्त्रालय अथवा विपद् व्यवस्थापन प्राधिकरणअन्तर्गत एउटा कुनै महाशाखा वा शाखा खोलेर त्यसलाई जवाफदेही बनाउन आवश्यक रहेको विज्ञले बताएका छन् ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया