माघ महिनामै डढेलोको घटनामा उच्च वृद्धि

 माघ २३, २०८१ बुधबार १५:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सामान्यतया चैत वैशाखमा धेरै हुने वन डढेलो यस वर्ष माघमै बढेको छ । हिजो एकैदिन देशका ५२ वटा ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।

हिजो सिन्धुपाल्चोकमा मात्रै ९ वटा ठाउँको जङ्गलमा डढेलो लाग्यो । यस्तै बझाङमा ७ वटा ठाउँमा डढेलो लागेको छ । आज पनि देशका १० वटाभन्दा धेरै ठाउँमा डढेलो लागिरहेको विभागको डढेलो अनुगमन प्रणालीले देखाएको छ ।

बितेको एक हप्तामा मनाङको तिमाङ जङ्गल, दोलखाको गौरीशङ्कर, सिन्धुपाल्चोकको भोटेकोशी, गोरखाको धार्चे, धादिङको रुबी उपत्यका, जाजरकोटको नलगाड, डोल्पाको जगदुल्ला, बझाङको साइपाललगायतका जङ्गलमा निकै ठूला डढेलोका घटना देखिएका वन तथा भू–संरक्षण विभागअन्तर्गत वन डढेलो नियन्त्रण कक्षका फरेस्टर प्रकाश मल्लले बताउनुभयो ।

यसपालि हिउँदे वर्षा कम भएकोले डढेलोको जोखिम उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको हिउँदमा औसत वर्षाको झन्डै १० प्रतिशतमात्रै पानी परेको छ । अझ बितेको २० दिनदेखि त पानी परेकै छैन ।

गएको वर्ष देशभरका जङ्गलमा गरी ५ हजार वटाभन्दा धेरै ठाउँमा डढेलो लागेको थियो । यस वर्ष सुक्खा अझ बढेकोले डढेलोका घटना बढ्नेतर्फ सचेत हुनुपर्ने डढेलोविद् डा. कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार धेरैजसो डढेलोका घटना मानवीय कारण हुने भएकोले डढेलोको जोखिमबारे बुझाएर समस्या कम गर्न सकिन्छ ।

यसैबीच डढेलोसँगै घरेलु आगलागीका घटना पनि बढेका छन् । हिजो बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा देशका विभिन्न ठाउँमा आगलागीका २१ वटा घटना हुँदा एक जनाको ज्यान जानुका साथै चार जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया