किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्रिय हुनुपर्नेमा जोड

 माघ ३०, २०८१ बुधबार ९:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन तीन तहका सरकार र किसान सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । साथै जनचेतनामुलक कार्यक्रम बढाउनुपर्ने आवश्यकता पनि देखिएकोमा धेरैको जोड छ ।

कृषि पेसालाई रोजाइको पेशाको रुपमा विकास गर्न किसानको पहिचान, पहिचानपछि वर्गीकरण र सूचीकरण भएसँगै कृषिको सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय किसान आयोगले हिजो जनकपुरधाममा गरेको किसान सूचीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको पहिचान कायम गर्न सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरणमा सहभागी हुन किसानलाई आग्रह गर्नुभएको छ । उहाँले किसानको पहिचान नभएसम्म सरकारले दिने अनुदान र सेवा सुविधा पाउन कठिन हुने बताउनुभयो ।

तथ्याङ्कअनुसार मधेश प्रदेशमा कृषि गणनाअनुसार तीन लाख ३२ हजार दुई सय ६० जना किसान रहेकोमा अहिलेसम्म ८० हजार सात सय ६४ जनाले सूचीकरणमा नाम दर्ता गराएका छन् ।

कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार अहिलेसम्म २० लाख हाराहारीमा किसान परिवार सूचीकरण प्रणालीमा सूचीकृत भएका छन् ।

राष्ट्रिय कृषि गणना–२०७८ का अनुसार देशभर ४१ लाख ३० हजार किसान घरधुरी छन् । कृषि गणनालाई आधारमान्दा अझै पनि आधा सङ्ख्यामा किसान सूचीकरण हुन बाँकी नै छ ।

मधेश प्रदेशमा सोमवार र मङ्गलवार भएका कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य टेकबहादुर बोगटी र अर्का सदस्य मञ्जु धिमालले किसानको पहिचान नभएसम्म सरकारले किसानका लागि ल्याएका कार्यक्रम प्रभावकारी नहुने बताउनुभयो ।

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव एवम् कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख डा.रामनन्दन तिवारीले किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था तथा आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेशको धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका जनप्रतिनिधि र किसानको सहभागिता रहेको थियो । यस्तै कार्यक्रम सोमवार रौतहटमा सम्पन्न भएको थियो । याे कार्यक्रममा राैतहटसहित बारा, पर्सा र सर्लाहीका जनप्रतिनिधि एवम् सरोकारवालाबीच ‘किसान सूचीकरणको कार्यान्वयन अवस्था’बारे छलफल भएको राष्ट्रिय किसान आयोगले जनाएको छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया