सरकारले ल्याएको अध्यादेश पारित गर्न बहुमत पुग्ने गरी दलहरूबीच सहमति : गृहमन्त्री लेखक

 फागुन ३, २०८१ शनिबार १८:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेश पारित गर्न बहुमत पुग्ने गरी दलहरूबीच सहमति भएको दाबी गर्नुभएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

गृहमन्त्री लेखकले आजको बैठकमा सहभागी नभएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेतासँग पनि फोन गरेर कुराकानी गरेको जानकारी दिनुभयो । तर जसपा नेपालले अध्यादेशहरू स्वीकृतिको प्रक्रिया अगाडि बढाउने सत्तागठबन्धनको निर्णयमा आफ्नो सहमति नरहेको जनाएको छ ।

जसपा नेपालका प्रवक्ता मनीष सुमनले भूमिसम्बन्धी अध्यादेशमा संशोधन अमान्य रहेको र फिर्ता नै हुनुपर्ने पूर्वअडानमा आफूहरू कायमै रहेको बताउनुभयो । बैठकमा पनि तत्काल भूमिसम्बन्धी अध्यादेशबाहेक पाँच वटा अध्यादेश अघि बढाउने बारेमा पनि छलफल भएको छ ।

सरकारले संसद्को चालू अधिवेशन शुरू हुनु केही दिनअघि सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश जारी गरेको थियो । तर राष्ट्रियसभामा बुहमत नपुग्ने डरले अघि स्वीकृति प्रक्रिया अघि बढाउन सकेको छैन ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया