शिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र

 फागुन ९, २०८१ शुक्रबार १५:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र पारिएको छ । मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन शुरू भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवम् धुनी ताप्ने व्यवस्था शुरू गरिसकेका छन् । यस वर्ष भारतको प्रयागमा चलिरहको महाकुम्भ मेला दर्शन गरेर शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमानसमेत गरिएको कोषले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शिवरात्री भव्य रूपमा सम्पन्न गर्नेगरी व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । पशुपति क्षेत्रमा शिवरात्रिको पूर्वतयारी अवस्थाबारेमा बिहान अवलोकनपछि उहाँले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन तीव्रताका साथ काम भइरहेको जानकारी दिनुभयो ।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले शिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ–संस्था र व्यक्तिको पनि सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरूपलगायतका ठाउँमा भइरहेको तयारीका कामको अवलोकन गर्नुभएको थियो ।

शिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत ९ वटा विषयगत उपसमिति गठन गरेर शिवरात्रिको तयारी भइरहेको सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो ।

शिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने परम्परा छ । शिवरात्रीको दिन पशुपतिनाथमा मेला लाग्ने गर्छ । फागुन १४ गते शिवरात्री मनाइँदैछ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया