हमासले शिरी बिबासको शव फिर्ता नगरेको इजरायलको दाबी

 फागुन ९, २०८१ शुक्रबार १६:५८:३९ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

इजरायलले हमास लडाकु समूहले शिरी बिबासको शव फिर्ता नगरेको दाबी गरेको छ । हिजो गाजाबाट फर्काइएका ४ जना बन्धकको शवमध्ये शिरी बिबासको अवशेष प्राप्त नभएको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

फरेन्सिक परीक्षणका क्रममा शिरीका दुई जना छोरा एरियल र कफिरसहित ८४ वर्षीय ओडेड लिफ्सिट्जको अवशेष पहिचान भएको तर शिरीको शव प्राप्त नभएको इजरायली सुरक्षा बल (आईडीएफ) ले जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूह हमासले बन्धक–कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा हिजो चार बन्धकको शवलाई रेडक्रसमार्फत इजरायली सेनालाई सुम्पिएको थियो ।

सेनाका प्रवक्ता अविचय अद्राईले हमासले सम्झौता अनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गर्नुपर्ने बताउनुभएको छ । यस्तै आईडीएफले एरियल र कफिरकी आमा शिरी युद्धको शुरूमा इजरायली हवाई आक्रमणमा मारिएको हमासको दाबीको खण्डन गरेको छ ।

गाजामा १५ महिनाभन्दा लामो सङ्घर्षपछि जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविरामको पहिलो ६ हप्ताको प्रथम चरणको एक हिस्साका रूपमा शव हस्तान्तरण भएको हो ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले गाजा युद्धविराम सम्झौताको ‘दुर्भावनापूर्ण’ उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया