आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सहमति : आन्दोलनका कार्यक्रम फिर्ता

 फागुन १०, २०८१ शनिबार ९:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सेवा सुविधालाई लिएर भइरहेको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच नौ बुँदे सहमति भएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितीमा हिजो भएको वार्तामा सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरु फिर्ता लिने र नियमित काम सञ्चालन गर्ने गर्ने सहमति भएको छ । सहमतिपछि मन्त्री पौडेलले मन्त्रालयको तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रक्रिया थाल्ने बताउनुभयो ।

सरकारको प्रचलित नियम अनुसार इन्टर्नसिप र रेजिडेन्सीमा अध्ययनरत चिकित्सकलाई सेवा सुबिधा, बिदा र स्वस्थ कार्यस्थलको सुनिश्चितताको लागी आवश्यक व्यवस्था गर्न चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ ।

सङ्घले राखेको स्नातकोत्तर सिट सङ्ख्या थप्ने माग सम्बन्धमा यसअघि नै चिकित्सा शिक्षा आयोगको १७ औं बैठकबाट निर्णयसमेत भइसकेको छ ।

यसैगरी सङ्घले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौं तहसरह उपलब्ध गराउने विषयमा पनि आयोगको बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनका लागि सरोकारवालासमक्ष पहल गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रिपरिषद्को निर्णयबाट पूर्व स्वीकृति प्राप्त भइसकेकाले चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्ने विषय सर्भे पूरा गरी मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी विकास समितिका कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासन तर्फको उप–सचिव (१ जना) र नेपाल चिकित्सक सङ्घका प्रतिनिधि १ जना रहने गरी ३ सदस्यीय कार्यदलले एक हप्ता भित्र कार्यविधि तयार गरि पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत सबै चिकित्सकहरुलाई जोखिम भत्ताका लागि तीन महिनाभित्र आवश्यक कानून तर्जुमा गर्नेसमेत मन्त्रालयले प्रतिबद्धता जनाएको छ । बन्दै गरेको ‘चिकित्सक ऐन’को मस्यौदामासमेत चिकित्सकका मागहरु समेट्ने प्रतिबद्धता जनाएको छ ।

चिकित्सा सेवा आयोगको गठन गर्ने कार्यलाई समेत प्रस्तावित चिकित्सक ऐन समावेश गरि ३ महिना भित्र स्वीकृतिको लागि पेश गर्ने प्रतिबद्धता वार्ताका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई चरणको वार्तापछि हिजोबेलुका सहमति भएसँगै अब नियमित रुपमा चिकित्सकहरु आन्दोलन छाडेर कार्यस्थलमा खट्ने भएका छन् ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया