स्याङ्जाकाे चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

 फागुन १०, २०८१ शनिबार १५:१:१५ | रासस
unn.prixa.net

तस्बिर : रासस

स्याङ्जा – चापाकोटमा सामुहिक आलुखेती फस्टाएको छ । चापाकोट नगरपालिकाको वडा नम्बर ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झन्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् ।

रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कूल तीन सय ९० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ ।

चापाकोटमा उत्पादन हुने आलु चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले बजारीकरणका लागि कुनै समस्या नरहेको पूर्वअध्यक्ष डोटेलले बताउनुभयो । यस वर्ष झन्डै चार सय टन आलु उत्पादन हुने अनुमान उहाँको छ ।

आलु कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र स्याङ्जाले आलुको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । ज्ञान केन्द्रले बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै निःशुल्क कीटनाशक विषादी तथा प्राविधिक सहयोग, यन्त्र उपकरण तथा साना सिँचाइका लागि उपकरणमा ५० देखि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ । निर्वाहमुखी रूपमा हुँदै आएको आलु खेतीमा आधुनिकता र व्यावसायिकतामा जोड दिएसँगै कृषक आलु खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । गत वर्ष स्याङ्जामा एक हजार आठ सय ५० रोपनी क्षेत्रफलमा आलु खेती गरिएकोमा यस वर्ष पाँच सय ५० रोपनी क्षेत्रफलमा आलु खेती विस्तार गरिएको हो ।

विगतदेखि नै निर्वाहमुखी र परम्परागत रूपमा आलु खेती गरिदै आए पनि विगत दुई वर्षदेखि आलुमा आधुनिकीकरण र व्यावसायिकतासँगै क्षेत्रफल र उत्पादनमा वृद्धि भएको प्रमुख हमालले बताउनुभयो । स्याङ्जामा कृषक समूह, सहकारी व्यावसायिक फर्ममार्फत व्यक्तिगत र सामूहिक रूपमा आलु खेती गरिएको छ । जिल्लामा जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायत उन्नत जातको बीउ आलु लगाउने गरिएको छ ।

 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया