गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
गएको वर्ष सन् २०२४ मा जापानको जन्मदर १ सय २५ वर्षयताकै कम भएको छ । युवाहरूले विवाह गर्न ढिलाइ गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा गएको वर्ष सन् १८९९ मा तथ्याङ्क राख्न शुरू गरेयताकै कम शिशु जन्मिएका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकसहित जापानमा सात लाख २० हजार नौ सय ८८ शिशु जन्मिएका थिए । यो सङ्ख्या सन् २०२३ को तुलनामा पाँच प्रतिशतले कम हो । त्यो वर्ष सात लाख ५८ हजार ६ सय ३१ जना शिशु जन्मिएका थिए ।
गएको वर्ष जापानमा जन्मिएका शिशुको सङ्ख्या सन् २०२३ मा मृत्युको सङ्ख्याको तुलनामा दोब्बरभन्दा बढी हो । सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या १ दशमलव ८ प्रतिशतले बढेर १६ लाख २० हजार जना पुगेको छ ।
जापानमा जनसाङ्ख्यिकीय सङ्कट गहिरो हुँदै गएको छ र जन्मदर गिरावटलाई उल्ट्याउने सरकारी प्रयासहरू असफल भइरहेका छन् । जापानको कुल जनसङ्ख्या यस महिना १२ करोड ३५ लाख ४० हजार जना पुगेको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या एक वर्षअघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जनसङ्ख्या सङ्कटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताउनुभएको छ । तर शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार शुरू गर्न निरुत्साहित गरेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।