कुलमानलाई पदबाट हटाएपछि सडकदेखि संसद्सम्म सरकारको विरोध

 चैत १३, २०८१ बुधबार १४:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि सडक हुँदै संसद्मा समेत सरकारको विरोध भएको छ ।

सामाजिक सञ्जाल र सडकमा चर्को विरोध भइरहेकोमा आज विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरे । बैठक शुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि विपक्षी दलका तर्फबाट कुरा राख्न सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई समय दिनुभयो । बस्नेतले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आएर संसद्मा जवाफ नदिएसम्म संसद् चल्न नदिने बताउनुभयो । विपक्षी दलका सांसदहरू उठेर विरोध जनाइरहेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएकोमा अझै शुरू भएकाे छैन ।

यस्तै घिसिङलाई हटाएको विरोधमा विपक्षी दलहरूले राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेका छन् । हिजो प्रधानमन्त्री केपी ओलीले सानो यो विषयमा तिललाई पहाड बनएको बताउनुभएको थियो । तर विपक्षीहरू आज झनै आक्रमक देखिएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहित कांग्रेसका केही नेता कार्यकर्ताले समेत घिसिङलाई हटाएकोमा विरोध गरेका छन् । विपक्षी दलका भातृ सङ्गठनसहितले काठमाण्डौमा प्रदर्शन गरेका छन् । उनीहरूले हिजो बेलुका मसाल जुलुससमेत निकालेका थिए । आज पनि विद्युत् प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन भएको छ ।

सरकारले घिसिङलाई पदबाट हटाउनुपर्ने कारण खुलाएर दिएको पत्रमा सञ्चालक समितिले गरेका निर्णयहरू कार्यान्वयन नगरेको आरोप छ । यस्तै सरकारले क्षेत्राधिकारबाहिर गएर भारतसँग विद्युत् खरिद तथा बिक्री सम्झौता गरेको, प्राधिकरणका कर्मचारीबीच गुटबन्दी गराएको, संसद् र सरकारविरुद्ध बोलेको, सरकारले सोधेको स्पष्टीकरणका विषयवस्तु सार्वजनिक गरेको, सञ्चालक समितिको स्वीकृति नलिइकन काजमा गएको जस्ता आरोप पनि लगाएको छ ।

विद्युत् प्राधिकरणको सञ्चालक समितका अध्यक्ष ऊर्जामन्त्री हुने व्यवस्था छ । तर अहिलेको सरकार गठन भएदेखि नै ऊर्जामन्त्री दीपक खड्का तथा घिसिङबीच सम्बन्ध राम्रो छैन ।

अन्तिम अपडेट: चैत १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया