समयभन्दा सधैं ढिलो चल्ने प्रधानमन्त्री ओलीको हातेघडी

 मंसिर २४, २०७५ सोमबार १३:२५:५९ | मिलन तिमिल्सिना
unn.prixa.net

नजिकबाट चिन्नेहरु भन्छन्, प्रधानमन्त्री के.पी. शर्मा ओली हाते घडीका सौखिन हुनुहुन्छ । उहाँका हातमा टल्कने घडी हेर्दा उहाँ घडीको सौखिन नै हुनुहुन्छ भन्ने जस्लाई पनि लाग्छ । तर, हातमा टल्किने घडीको सुई र आफ्ना लागि तय गरिएको समयबीच ओलीको कतै तालमेल देखिंदैन । 

हुँदा हुँदा हातको घडी र समयको गति मिलाउन नसकेर यो पालि उहाँ आफ्नै समकक्षी नेताको बहिस्करणमा पर्नु भएको छ । दुई तिहाईको सरकार हाँकिरहेका ओलीलाई समयको पालना नगरेको आरोप लगाउँदै नेकपा सचिवालय बैठकमा भाग लिन पुगेका आफ्नै कामरेडहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले बहिस्कार गरेका छन् । 

सम्वृद्धि र सुशासनको भाषण गरेर कहिल्यै नथाक्ने ओली समय पालना नगरेर सधैं ढिलो हुने नेताको अग्रपंक्तिमा पर्नुहुन्छ ।

चार जना नेताले बैठक बहिष्कार गर्नुभित्रका गुटगत स्वार्थ र आन्तरिक असन्तुष्टि धेरै होलान्, तर समयको पालना गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको दबाब सबैभन्दा बढी महत्वपूर्ण छ ।

सम्वृद्धि र सुशासनको भाषण गरेर कहिल्यै नथाक्ने ओली समय पालना नगरेर सधैं ढिलो हुने नेताको अग्रपंक्तिमा पर्नुहुन्छ । उहाँका अर्का सारथी एवं नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि समयको गतिका मामिलामा ओलीलाई पछ्याउन थाल्नु भएको सुनिन्छ । 

कुनै पनि सार्वजनिक कार्यक्रममा उहाँहरु निर्धारित समयमै पुग्ने गरेको उदाहरण कमै छन् । अझ प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रममा त आयोजक र अरु सहभागीहरु दुई, तीन घण्टा कुर्न बाध्य हुन्छन् । कोही कोही त प्रमुख अतिथि ओली हो भन्ने थाहा पाएपछि निर्धारित समयभन्दा दुई तीनघण्टा ढिला गरेर मात्र कार्यक्रममा जाने गर्छन् ।

अर्थात सबैलाई थाहा छ, प्रधानमन्त्री ओलीलाई कहिल्यै ढिलो हुँदैन । उहाँ कुनै पनि कार्यक्रममा निर्धारित समयमा पुग्नुहुन्न । अरुलाई घण्टौं पर्खाउने बानी छ उहाँको । शनिबार डाकिएको पार्टीको सचिवालय बैठकमा पनि उहाँले अरु नेताहरुलाई यसैगरी कुराउनुभयो । 

बैठक सुरु हुने बेला उहाँ अर्का अध्यक्ष प्रचण्डसँगै अर्को भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । त्यो भेटघाट पनि महत्वपूर्ण थियो होला । तर आफू महत्वपूर्ण काममा भएकाले बैठक यतिबेला गरौं भनेर समयमै अरु नेताहरुलाई भन्न सकिन्थ्यो, उहाँले त्यसो गर्नुभएन । लामो समय पर्खंदा पनि बैठक सुरु नभएको र आफूहरुलाई जानकारी पनि नगराएकाले बहिष्कार गरेर हिँड्नुपरेको असन्तुष्ट नेताहरुको भनाई छ ।

असन्तुष्टमध्ये माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ समयको पालना गर्ने नेताहरुमा पर्नुहुन्छ । उहाँहरु सबै कार्यक्रममा निर्धारित समयमै पुग्नुहुन्छ । धेरैपटक आयोजकभन्दा पहिले नै आफूहरु कार्यक्रममा पुग्ने गरेको, तर समयमा कार्यक्रम सुरु नहुँदा निराश हुने गरेको गुनासो उहाँहरुले गर्दै आउनुभएको छ । 

नेता श्रेष्ठ त निर्धारित गरिएको १५ मिनेटमा पनि कार्यक्रम सुरु भएन भने कार्यक्रम सुरु नहुँदै फर्कनुहुन्छ । अरु नगए पनि बेलैमा पुग्ने, १५ मिनेटसम्म पर्खने र त्यतिबेलासम्म कार्यक्रम सुरु भएन भने उठेर हिँड्ने उहाँको बानी हो । 

नेता नेपाल पनि त्यसै गर्नुहुन्छ । तर धेरैपटक आफू समयमा पुग्दा पनि कार्यक्रम सुरु नभएपछि कुनै कुनै बेला त आफू पनि ढिलो गरेर जाने गरेको बाध्यता उहाँले एकपटक सुनाउनुभएको थियो । 

चुनाव भएको एक वर्षमा सरकारले गति लिन नसक्नुमा ओलीको नमिलेको समयको गतिले पनि केही न केही योगदान त गरेकै हुनुपर्छ । 

नेता नेपाल र श्रेष्ठ मात्रै होइन, अरु केही नेताहरुले पनि समयको पालना गर्ने गरेका छन् । केही महिनाअघि कानुनमन्त्री भानुभक्त ढकाल पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा बोलाएकै बेला पुग्नुभयो । तर उहाँ पुगेको आधा घण्टासम्म पनि कार्यक्रम सुरु भएन ।

नेता नारायणकाजी जस्तै उहाँ उठेर त हिँड्नु भएन, तर कार्यक्रम सुरु भएपछि समयको पालना नगरेको भन्दै पत्रकारहरुलाई व्यंग्य गर्नुभयो । पत्रकारले नै समयको पालना नगर्ने हो भने अरुले पालना गर्नुको अर्थ के रह्यो र भन्ने उहाँको भनाई थियो ।

पत्रकारले मात्र होइन, सबैले समयको पालना गर्नुपर्छ । अनि सबैभन्दा बढी समयको पालना प्रधानमन्त्री ओलीले नै गर्नुपर्छ । किनभने ओली ढिलो हुँदा सरकारको काम ढिलो हुन्छ । चुनाव भएको एक वर्षमा सरकारले गति लिन नसक्नुमा ओलीको नमिलेको समयको गतिले पनि केही न केही योगदान त गरेकै हुनुपर्छ । 

एउटा काम र कार्यक्रममा केहीबेर ढिलो हुँदा बाँकी काममा त्यसै पनि असर पर्छ भन्ने यथार्थ ओलीलाई प्रष्टै थाहा हुनुपर्ने हो । पार्टीको सचिवालय बैठकमा उपस्थित हुन ढिलो गर्दा स्थायी समिति बैठक बोलाउन ढिलो भयो । पार्टी बैठक ढिलो हुँदा नेता, कार्यकर्तामा चुलिएको असन्तुष्टि मत्थर गर्न ढिलो भयो । आफ्नै नेता कार्यकर्ताको असन्तुष्टि मेटाउन ढिलाई हुँदा पार्टीभित्र थिती र पद्धति मिलाउन समय लाग्यो ।

विद्यार्थी घण्टी लाग्ने बेलामै स्कुल पुग्नुपर्छ । कर्मचारी १० बज्दा कार्यालयमा उपस्थित भैसक्नुपर्छ । किसानले असारमै धान रोप्नुपर्छ । घामले निर्धारित समयमै झुल्कनुपर्छ, निर्धारित समयमै अस्ताउनुपर्छ ।

पार्टी अध्यक्षको कुर्सीमा बसेर गर्नुपर्ने काममै समय धेरै खर्च गर्नु परेपछि प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्नुपर्ने अरु महत्वपूर्ण काममा ध्यान दिन ढिलो भयो । अर्थात प्रधानमन्त्री ओलीले एउटा काम र कार्यक्रममा ढिलाई गर्दा सबै काममा असर पर्यो । 

अर्को जल्दोबल्दा विषयकै कुरा गरौं, निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न ढिलाई हुँदा सरकारी निकायदेखि अधिकारवादीसम्मले बाँकी काम गर्न पाएका छैनन् । सिन्डिकेट हटाउने निर्णय कार्यान्वयनमा ढिलाई हुँदा यातायात व्यसायीको मनपरी र यात्रुको सास्ती रोकिएको छैन ।

प्रधानमन्त्री र मन्त्रीहरुले गर्छु भनेका अरु काम सुरु गर्न ढिलाई हुँदा दुई तिहाईको सरकारबाट थुप्रै आशा र विश्वास गरेका नागरिकमा निराशा बढ्दो छ । यी सबै असर प्रधानमन्त्रीको समय पालनासित कुनै न कुनै हिसाबले जोडिएका छन् । 

आफ्नै नेतृत्वमा मुलुकलाई समृध्दिको बाटोमा हिँडाउन खोजेको हो भने सत्तारुढ पार्टीकै अध्यक्ष र देशका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चाहिँ समयको पालना किन गर्नु नपर्ने ?

विद्यार्थी घण्टी लाग्ने बेलामै स्कुल पुग्नुपर्छ । कर्मचारी १० बज्दा कार्यालयमा उपस्थित भैसक्नुपर्छ । किसानले असारमै धान रोप्नुपर्छ । घामले निर्धारित समयमै झुल्कनुपर्छ, निर्धारित समयमै अस्ताउनुपर्छ । समयको पालना पनि समृध्दिको एउटा सूचक हो ।

अनि समृध्दि अहिलेका प्रधानमन्त्रीको प्रमुख मुद्दा । आफ्नै नेतृत्वमा मुलुकलाई समृध्दिको बाटोमा हिँडाउन खोजेको हो भने सत्तारुढ पार्टीकै अध्यक्ष र देशका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चाहिँ समयको पालना किन गर्नु नपर्ने ?

अन्तिम अपडेट: पुस ३०, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया