पप्पुको लापर्वाहीले कमला नदीकाे पुल सात वर्षमा पनि बनेन

 पुस ३, २०७५ मंगलबार १४:१३:१० | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग अन्तर्गत सिन्धुलीको कमलाखुँज क्षेत्रमा रहेको कमला नदीमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनी पप्पु कन्ट्रकसनको लापर्बाहीले अलपत्र परेको छ । 

एसियाली विकास बैंकको अनुदान सहयोग करिब ३१ करोड रुपैया लागतमा दुधौली नगरपालिकाको वडा नं. २ र ३ जोड्ने गरी कमला नदीमा सात वर्षअघि पुल निर्माण सुरु गरिएको थियो । नेपालकै दोस्रो लामो पक्की पुल भनिएको त्यो पुल निर्माणको ठेक्का पप्पु लुम्बिनी जेभिले पाएको छ ।   

२०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु लुम्बिनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी काम सुरु गरेको भएपनि अहिलेसम्म ५० प्रतिशत पनि काम नसकिएको चतरा–सिन्धुली–हेटौंडा सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पुलको कुल लम्बाई ५४६ मिटर छ । 

तोकिएको समयभित्र पुल निर्माण नसकिएपछि एक वर्षको म्याद थप गरेपनि सन्तोषजनक प्रगति नदेखिएको चतरा–सिन्धुली–हेटौंडा सडक आयोजना पुर्वी खण्डका इन्जिनियर शम्भु आचार्य बताउनु हुन्छ । 

उहाँले भन्नुभयो, ‘काम गर्न पप्पुलाई हामीले ताकेता गरिरहेका छौं । तर विभिन्न बहाना देखाउँदै काममा ढिला सुस्ती गरेको छ । अहिले काम रोकिएको छ ।’
‘पप्पुको थपिएको म्याद २०७४ साउन १४ गते सकिएपछि फेरि थपिएको छैन, अहिले उस्ले दैनिक जरिवानामा काम गर्नु पर्ने हुन्छ,’ इन्जिनियर आचार्यले भन्नुभयो, ‘कारबाही गर्नुपर्ने विभागले हो, हामी त फिल्डमा खटिएर काम गर्ने कर्मचारी हौं ।’ 

अहिलेसम्म अर्को निर्माण कम्पनीलाइ ठेक्का नदिएको हुँदा पुल निर्माणको बाँकी काम पनि पप्पुले नै सक्नुपर्ने उहाँले जानकारी  दिनुभयो । 

निर्माण सुरु गरेको सात वर्ष बित्दा पनि पुल निर्माणको अझै पनि आधा काम नसकिएको दुधौली नगरपालिका वडा नं. २ का अध्यक्ष रितेस राउत गुनासो गर्नु हुन्छ ।

उहाँले भन्नुभयो, ‘ठेकेदारको लापर्बाहीले नै पुल निर्माण निकै सुस्त छ । फिल्डमा जिम्मेवार कुनै पनि व्यक्ति भेटिँदैनन् । पिल्लर उठाउने काम गरेका छन्, अरु काम बाँकी छ ।’ 

‘१४ वटा पिल्लरमध्ये दुईवटा पिल्लरमा स्ल्याब हालेका छन्, अरु काम अलपत्र छ,’ उहाँले भन्नुभयो, ‘त्यत्रो पुल निर्माण गर्नु छ, तीन-चार जना मान्छे लगाएको देखिन्छ । यही गतिले जाने हो भने अब दश वर्षमा पनि पुल निर्माण पूरा हुने देखिँदैन ।’ 

जनताको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध जोडिएको पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुनु पर्ने उहाँको माग छ ।

स्थानीय बासिन्दाका अुनसार कमला नदीमा वारपार गर्न पुल नहुँदा बर्सेनि वर्षाको मौसममा बगेर कम्तीमा पनि आधा दर्जन मानिसको ज्यान जाने गरेको छ । पक्की पुल निर्माणसँगै उत्साहित त्यस क्षेत्रका बासिन्दा अहिले निरास बन्दै गएका छन् ।’


 

अन्तिम अपडेट: चैत १५, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया